२०८१ जेठ ८, मंगलबार    

जग्गा कारोबारको नाफा हत्याउन तीन साझेदारको हत्या

२०७८ माघ २१, शुक्रबार १३:२३ बजे

मोरङ—ललितपुरको गोदावरी नगरपालिका र मोरङको धनपालथान गाउँपालिकामा व्यापारिक कारोबारका तीन जना साझेदारको हत्या आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

 सिराहाको सिराहा नगरपालिका–२१ घर भइ काठमाडौंको बल्खुमा बस्दै आएका ३१ वर्षीय अनिल मण्डल, मोरङको जहदा गाउँपालिका–४ सिस्बनीको २९ वर्षीय दिनानाथ साह र धनपालथान गाउँपालिका–७ कमलपुर पश्चिम टोलका ६२ वर्षीय नासिर आलमलाई पक्राउ गरी जिल्ला प्रहरी मोरङले शुक्रबार सार्वजनिक गरेको हो । उनीहरुलाई बिहीबार पक्राउ गरेको प्रहरीले जनाएको छ ।

 धनपालथान गाउँपालिका–७ स्थित उखुबारीमा दुई जना र ललितपुरको गोदावरी नगरपालिका–१२ ठेचो चरङ्गखेलको गोदाम परिसरमा एक जनालाई हत्या गरी खाल्डो खनेर गाडेको आरोपमा उनीहरुलाई पक्राउ गरी अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी मोरङका प्रमुख प्रहरी उपरीक्षक जनार्दन जीसीले बताए ।

सप्तरीको शम्भुनाथ नगरपालिका–४ का ३२ वर्षीय शम्भुकुमार चौधरी र सुनसरीको धरान उपमहानगरपालिका–३ घर भइ भक्तपुर बस्दै आएका ४८ वर्षीय राजेन्द्रकुमार श्रेष्ठको हत्या गरी उखुबारीमा गाडेको अवस्थामा प्रहरीले शव बरामद गरेका थिए । चौधरीको शव माघ १२ गते र श्रेष्ठको शव माघ १३ गते बरामद भएको थियो ।

यस्तै, तेह्रथुमको संक्रान्ति–२ घर भइ काठमाडौं महानगर–८ गोठाटार बस्दै आएका ६३ वर्षीय मोहन लिम्बुको शव प्रहरीले बिहीबार ललितपुरको गोदावरी नगरपालिका–१२ ठेचो चरङ्गखेलको गोदाम परिसरमा खाल्डो खनेर गाडेको अवस्थामा बरामद गरेको हो ।

 
लिम्बुलाई मंसिर २८ मा, श्रेष्ठलाई पुस ५ मा र चौधरीलाई पुस ७ गते हत्या गरेर गाडेको प्रारम्भिक अनुसन्धानबाट खुलेको जीसीले बताए ।

मृतक श्रेष्ठ, चौधरी, लिम्बु र पक्राउ परेका मण्डल घर जग्गा कारोबारका साझेदार भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरी उपरीक्षक जीसीले बताए । ‘काठमाडौंमा जग्गा कारोबारमा भएको मुनाफा रकम एक्लै हत्याउन मण्डलले तीनै जनाको हत्या गराएको अनुसन्धानबाट खुलेको छ,’ उनले भने, ‘पक्राउ परेका साह र नासिर दुवै जनालाई पैसा दिएर हत्या गर्न लगाएको खुलेको हो ।’ उनीहरुको हत्यामा अन्य व्यक्तिको पनि संलग्नता रहेकाले थप अनुसन्धान भइरहेको जीसीले बताए ।

लिम्बुलाई हत्या गरेर गाडिसकेपछि मण्डलले श्रेष्ठ र चौधरीलाई लिएर विराटनगर आएका थिए । उनीहरु बसपार्कस्थित मेट्रोसिटी होटेलमा बसेको अनुसन्धानबाट खुलेको जीसीले बताए । मण्डलले लिम्बुको हत्या गरेको थाहै नदिई श्रेष्ठ र चौधरीलाई लिएर आएको र होटेलबाट श्रेष्ठलाई लगेर हत्या गरेको पनि चौधरीलाई जानकारी नभएको अनुसन्धानबाट खुलेको उनले सुनाए । घटनाको बारेमा थप अनुसन्धान भएपछि मात्रै थप विषय खुल्ने उनको भनाइ छ ।

धनपालथान गाउँपालिका–७ स्थित बजरंगी सिंह र गंगाप्रसाद सिंहको छुट्टाछुट्टै उखुबारीमा खाल्डो खनेर पुरिएको देखेपछि उखु काट्न गएका मजदुरहरुले शंका लागेर इलाका प्रहरी रंगेलीलाई माघ १२ गते जानकारी गराएका थिए । त्यसपछि प्रहरीले खाल्डोको उत्खनन गरेपछि दुवै जनाको शव बरामद गरेको थियो ।