२०८१ बैशाख १४, शुक्रबार    

एकवर्षमा १ हजार ४ सय ४५ जना पीडित

२०७९ फाल्गुन ७, आईतबार १८:२६ बजे

अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकले ०७९ फागुन ७ गते हेटौँडामा एक कार्यक्रम गरी सन् २०२२ मा बागमती प्रदेशको मानव अधिकार अवस्था सार्वजनिक गरेको छ ।
इन्सेकका प्रदेश संयोजक गणेश भण्डारीले बागमती प्रदेशमा सन् २०२२ मा राज्य पक्षबाट ३४ जना महिला र ३ सय ४१ जना पुरुष गरी जम्मा ३ सय ७५ जना तथा ज्यादतीका घटनामा अन्य पक्षबाट ८ सय ७७ जना महिला, १ सय ७२ जना पुरुष र १ जना अन्य (यौनिक अल्पसङ्ख्यक_ सहित जम्मा १ हजार ५० जना गरी कूल १ हजार ४ सय ४५ जना पीडित भएको तथ्याङ्क सार्वजनिक गरेका हुन् ।
यो सङ्ख्या गत वर्ष सन् २०२१ भन्दा २ सय ६२ जनाले बढी हो । गत वर्ष सन् २०२१ मा १ हजार १ सय ८३ जना पीडित भएका थिए ।
संयोजक भण्डारीका अनुसार सन् २०२२ मा यस प्रदेशमा राज्यपक्ष अन्तर्गत भएका मानव अधिकार उल्लङ्घन अन्तर्गत कारागारमा रहेका ४ जना महिला र ४१ पुरुष गरी ४५ जनाको स्वास्थ्य लगायतका बिभिन्न कारणले मृत्यु भएको छ । साथै कुटपिटका घटनामा चार जना, गिरफ्तारीका घटनामा ३८ जना, यातनाका घटनामा चार जना र अभिव्यक्ति, भेला तथा सङ्गठित हुने अधिकारमा ३० जना महिला र २ सय ४५ जना पुरुष गरी २ सय ५५ जना पीडित भएका छन् ।
यसैगरी सन् २०२१ मा मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनामा १ हजार १ सय ७३ जना पीडित भएका थिए जसमा राज्यपक्षबाट ३ सय ८३ जना र अन्यपक्षबाट ८ सय ९० जना पीडित भएका थिए ।
इन्सेकले आयोजना गरेको सन् २०२२ को बागमती प्रदेशको मानव अधिकार अवस्था विषयक पत्रकार भेटघाट कार्यक्रममा नेपाल पत्रकार महासङ्घ बागमती प्रदेशका संस्थापक अध्यक्ष प्रताप विष्टले मानव अधिकारको अभिलेखिकरणमा इन्सेकको भूमिका महत्वपूणर् रहेको भन्दै मानव अधिकारको सम्बर्धन र संरक्षणमा राज्यले आफ्नो दायित्व पूरा नगर्दा मानव अधिकार उल्लङ्घनका तथा ज्यादतीका घटना वर्सेनि बढ्दै गएको बताए ।
पीडितले पाएको न्याय र पीडकलाई भएको सजायको फ्लोअप सहितको अभिलेख समेटेर प्रदेश स्तरमा पुस्तक प्रकाशन गर्न समेत विष्टले सुझाव दिए ।
महिलाविरुद्ध हुने सबै प्रकारका दुर्व्यवहार घटनामा सन् २०२२ मा यस प्रदेशमा ४ सय ३४ जना पीडित भएको तथ्याङ्क सार्वजनिक गरिएको छ । जसमा बेचबिखनका घटनामा १३ जना, घरेलु हिंसाका घटनामा ९० जना, कथित बोक्सीको आरोपमा तीन जना, बलात्कारका घटनामा १ सय ७१ जना, बलात्कार प्रयासका घटनामा ३५ जना, यौन दुर्व्यवहारको घटनामा १७ जना महिला पीडित भएको उल्लेख गरिएको छ ।
साथै यस वर्ष बाल अधिकार उल्लङ्घनका घटनामा ४ सय १४ जना पीडित भएका छन् । जसमध्ये बलात्कारका घटनामा २ सय ८५, यौन दुर्व्यवहारको घटनामा एक जना बालक सहित १ सय २ जना, बालबिवाहका दुई र विद्यालयमा शारीरिक सजाय दिइएका घटनामा दुई जना बालिकासहित ६ जना बालबालिका पीडित भएको इन्सेकले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा जानकारी दिइएको छ ।