२०७९ माघ १४, शनिबार    

सिद्धार्थ उमाविको ४७ औं वार्षिकोत्सव

२०७९ माघ ८, आईतबार १७:३९ बजे

हेटौंडा–२ मा रहेको सिद्धार्थ माध्यमिक विद्यालयले विहीबार आफ्नो ४७ औँ बार्षिक उत्सव मनाएको छ ।

विद्यायलले माघ ५, ६ र ७ गते अतिरिक्त कार्यक्रम र आज ८ गते समापन कार्यक्रमको आयोजना गरी ४७ औँ बार्षिक उत्सव सम्पन्न गरेको हो । 

हेटौंडा उपमहानगरपालिकाका नगर प्रमुख मीनाकुमारी लामाको प्रमुख आतिथ्यतामा तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बलराम घिमिरेको सभाध्यक्षतामा भएको हो ।  पुरस्कार वितरण तथा समापन कार्यक्रममा हेटौँडा उपमहानगरपालिकाका प्रवक्ता तथा वडा नम्बर १ का वडाअध्यक्ष सविन न्यौपाने, वडा नम्बर २ का वडाअध्यक्ष विष्णु गोपाल महर्जन, हेटौंडा उपमहानगरपालिका प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाई, शिक्षा समन्वय ईकाई मकवानपुरका प्रमुख दिनानाथ गौतम, राष्ट्रिय परीक्षा बोर्डका प्रमुख कृष्णप्रसाद घिमिरेको उपस्थिति थियो । कार्यक्रममा उपमहानगरपालिका शिक्षा विकास महाशाखा प्रमुख गंगाधर रिमाल, २ नम्बर वडसदस्य सुरज बर्तौला, इन्द्रप्रसाद रिजाल, मैया परियार, विद्यालयका व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष मधु बजगाईं, विद्यालय व्यवस्थापन समिति सदस्यहरु ज्ञानु परियार, रामचन्द्र बर्तौला, पिताम्बर बास्तोला, सरिता दाहाल, लक्ष्मी श्रेष्ठ, पुर्व प्रधानाध्यापक, विद्यालयका सहायक प्रधानाध्यापक सागरप्रसाद खतिवडा, रामशरण अधिकारी, दश जोड दुई संयोजक गणेशप्रसाद हुमागाईंलगायत शिक्षक अभिभावकहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी नगरप्रमुख लामाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरमा सुधार हुदै आएको भन्दै गुणस्तर सुधार्न सबै लाग्नु पर्ने बताइन। उनले नगरपालिकाको शैक्षिक सुधार कार्यक्रममा सिद्धार्थ माध्यमिक विद्यालयले खेलेको भुमिकाको प्रशंशा व्यक्त गरिन । कार्यक्रममा २०७८ शालको बार्षिक परिक्षामा प्रथम,द्धितिय र तृतिय भएका र विद्यालयले संचालन गरेका अतिरिक्त क्रियाकलापमा उत्कृष्ट हुने विद्यार्थीहरुलाई पुरस्कृत गरिएको थियो ।

विद्यालयका प्रधानाध्यापक मोहन प्रसाद शर्माले विद्यालयको प्रगति विवरण प्रस्तुत गरेका थिए साथै कार्यक्रममा विद्यालयले त्रैमासिक रुपमा प्रकाशन गरेको सिद्धार्थ बालबाटिकाको विमोचन गरिएको थियो । कार्यक्रममा गत शैक्षिक सत्रमा विद्यालय संचालन भएको मितिमा सबैभन्दा बढी उपस्थिति हुने शिक्षिका सृजना शर्मा र विद्यालयकी कर्मचारी लक्ष्मी न्यौपानलेलाई नगद सहित कदरपत्रले सम्मान गरिएको थियो ।

कार्यक्रममा विज्ञान प्रदर्शनी,चित्रकला प्रदर्शनी, दुना टपरी प्रदर्शनी र खाना महोत्सवको आयोजना गरिएको थियो । कक्षा -८ को पेसा विषय अन्तर्गत आयोजना गरिएको खाना महोत्सबमा प्रमुख अतिथी र अतिथिहरूको समेत सहभागिता रहेको थियो।