२०८१ बैशाख १३, बिहीबार    

चार उम्मेदवारको नजर मुख्यमन्त्रीतर्फ

२०७९ आश्विन ३०, आईतबार ११:१० बजे

अघिल्लो निर्वाचनपछि तीनवटा सरकार पाइसकेको वाग्मतीमा अब कसको नेतृत्वमा प्रदेश सरकार बन्ला भन्ने अनुमान लगाउन थालिसकिएको छ ।

प्रदेशका ६६ निर्वाचन क्षेत्र र ४४ जना समानुपातिकबाट छनोट भएका एक सय १० सांसदमध्येबाट एक मुख्यमन्त्री हुनेछन् । हालको अवस्थामा प्रदेशको मुख्यमन्त्री बन्ने लक्ष्य बोकेर नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादीका चार जना नेता चुनावी मैदानमा होमिएका छन् । चुनावी मैदानमा रहेकामध्ये कांग्रेस वाग्मती प्रदेश सभापति इन्द्रबहादुर बानियाँ मुख्यमन्त्रीको दौडमा अगाडि रहेको ठानिएको छ । बानियाँले तत्कालीन समयमा एमालेबाट डोरमणि पौडेल मुख्यमन्त्रीको भूमिकामा रहँदा करिब ४२ महिना प्रमुख प्रतिपक्षी दलको नेताको भूमिका थिए ।

आसन्न निर्वाचनमा प्रतिनिधिसभातर्फ चुनाव उठ्ने मनस्थिति बनाएका बानियाँलाई मुख्यमन्त्री बनाउनकै लागि कांग्रेसले प्रदेशसभातर्फ उम्मेदवार बनाएको चर्चा छ । उनी चुनाव लड्दै आएको क्षेत्रमा प्रतिनिधिसभातर्फ कांग्रेस सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ लाई टिकट दिएर बानियाँलाई यसअघि २०७४ मा चुनाव लडेको मकवानपुर २ (२) बाटै पार्टीले प्रदेशसभा सदस्य पदका लागि उम्मेदवार बनाइएको छ । बानियाँ मकवानपुर १ बाट २०७० मा भएको दोस्रो संविधानसभा सदस्य पदमा चुनाव जितेर सोही कार्यकालमा संघीय सरकारको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र गृह राज्यमन्त्रीसमेत बनिसकेका छन् ।

बानियाँ सत्तारूढ गठबन्धनमा भएको सहमतिअनुसार हाल मुख्यमन्त्री हुनुपर्ने थियो । बानियाँ तत्कालीन समयमा एमालेको सरकार ढालेर एसका नेता राजेन्द्र पाण्डे नेतृत्वमा प्रदेश सरकार गठन हुँदा आधा–आधा कार्यकाल सरकारको नेतृत्व गर्ने सहमति भएको थियो । तर पछि मुख्यमन्त्री पाण्डेले उनलाई पद छाड्न मानेनन् । लिखित सहमतिअनुसार पाण्डेलाई हटाएर बानियाँलाई मुख्यमन्त्री बनाउँदा सातवटै प्रदेशमा पनि समस्या सिर्जना हुने भएपछि गठबन्धनले पाण्डेलाई नै निरन्तरता दिएको थियो । उनको निरन्तरतासँगै प्रदेशसभाको पहिलो कार्यकालमै मुख्यमन्त्री बन्ने अवसरबाट उनी वञ्चित भएका थिए ।

पार्टीभित्रको आन्तरिक कलह र सर्वोच्चले प्रतिनिधिसभा पुनःस्थापना गरेसँगै बहुमतको सरकार गुमाएर ४३ सांसदसहित करिब डेढ वर्ष प्रमुख प्रतिपक्षको भूमिकामा रहेको एमालेबाट सानुकुमार श्रेष्ठ मुख्यमन्त्रीको आकांक्षी हुन् । उनी एमालेबाट काठमाडौं २ (१) बाट प्रदेशसभातर्फ उम्मेदवार बनेका छन् । प्रदेशसभाको सभामुखसमेत भइसकेका श्रेष्ठ मुख्यमन्त्री बन्ने सपनासहित प्रदेशमा दोहोरिएका हुन् । उनले सार्वजनिक मञ्च तथा चुनावी अभियानमै प्रदेश सरकारको नेतृत्व गर्ने इच्छा जाहेर गरिरहेका छन् । श्रेष्ठले पार्टी विभाजनको समयमा खेलेको भूमिका र एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको निकटताका कारण उनी सांसदीय दलका नेता हुने दाबी गरिएको छ ।

माओवादी केन्द्रका नेता शालिकराम जमकट्टेल पनि मुख्यमन्त्री बन्ने दौडमा छन् । प्रदेश सरकार गठन भएदेखि नै सत्तामा रहेका जमकट्टेल आगामी निर्वाचनपछि पनि सत्ताको साँचो आफ्नो हातमा पार्ने दौडमा छन् । उनी एमाले–माओवादी केन्द्रको गठबन्धनमा बनेको प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुनमन्त्री थिए । पार्टी विभाजनपश्चात् करिब ११ महिना प्रमुख प्रतिपक्षको भूमिकामा रहेका जमकट्टेल हालको गठबन्धनबाट एस नेतृत्वको सरकारमा आर्थिक मामिला तथा कानुनमन्त्री बने । एमाले विभाजनपछि हालको गठबन्धनमा मुख्यमन्त्री उनले दाबी गरेका थिए । तर, केन्द्रीय नेतृत्वले अन्य प्रदेशमा दाबी गरे पनि उनी उक्त अवसरबाट पछाडि हट्नुपरेको थियो । मुख्यमन्त्री बन्ने अपेक्षा लिएर उनी धादिङ १(२) बाट पुनः प्रदेशसभामै उठेका छन् ।

एसका प्रदेशका बहालवाला आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णप्रसाद शर्मा खनाल मुख्यमन्त्री बन्ने दौडमा छन् । उनी चितवन १(२) बाट प्रदेशसभा सदस्य पदका लागि चुनावमा उम्मेदवार बनेका छन् । उनी चितवन १ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवार बन्ने तयारीमा रहे पनि सत्ता गठबन्धनमा यस क्षेत्र कांग्रेसको भागमा परेपछि प्रदेशको नेतृत्व गर्ने केन्द्रीय आश्वासन पाएपछि उनी उम्मेदवार बनेका हुन् । यसअघि एमालेबाट निर्वाचित भएका खनाल डोरमणि पौडेल नेतृत्वको प्रदेश सरकारका पालमा सरकार, मन्त्री, नीति तथ कार्यक्रम र बजेटको कडा आलोचक हुन् । उनी पौडेलले सरकार छाडेकै दिन सामाजिक विकासमन्त्री बने । उनले अष्टलक्ष्मी शाक्य नेतृत्वको सरकारमा मन्त्री बनेको १५ दिनमै पार्टी विभाजनपश्चान् राजीनामा दिए ।

प्रदेशसभा एकै कार्यकालमा उनी २ पटक मन्त्री बने । हाल उनी आन्तरिक मामिला तथा कानुनमन्त्री छन् । उनी सरकारका प्रवक्तासमेत हुन् ।

हाल प्रदेश सरकारमा रहेका १८ मन्त्रीमध्ये ८ जना मात्रै आगामी प्रदेशसभाका उम्मेदवार रहेका छन् । मुख्यमन्त्री पाण्डेबाहेक सबै प्रदेशसभाका उम्मेदवार हुन् । मुख्यमन्त्री पाण्डे सत्ता गठबन्धनबाट प्रतिनिधिसभा सदस्यका लागि धादिङ १ बाट उम्मेदवार बनेका छन् । पाण्डे प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेसँगै उनी प्रदेश सरकारको आगामी सरकारको नेतृत्व गर्ने रेसबाट आउट भएका छन् ।