२०८० चैत्र १५, बिहीबार    

टेन ह्याग म्यानचेस्टर युनाइटेडको मुख्य प्रशिक्षक नियुक्त

२०७९ बैशाख ८, बिहीबार १८:११ बजे

इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले आधिकारिक रुपमा क्लबको मुख्य प्रशिक्षकमा डच क्लब आयाक्सका एरिक टेन ह्यागलाई नियुक्त गरेको छ ।

युनाइटेडले ३ वर्षको लागि डच टेन ह्यागलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको जनाएको छ । ह्यागले यो सिजनको अन्त्यसँगै आयाक्स छाडेर युनाइटेड आउने छन् । टेन ह्याग सन् २०१३ मा सर एलेक्स फर्गुसनले क्लब छाडेपछिको पाँचौं स्थायी प्रशिक्षक बनेका छन् । ओल्ड टाफोर्डमा ५२ वर्षीय टेन ह्यागको सहायकमा मिचेल भान डर गाग पनि सामेल हुनेछन् ।

फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) का माउरीसियो पोचेटिनोभन्दा अघि नै टेन ह्यागसँगको अन्तर्वार्ता आएपछि उनको ओल्ड ट्राफोर्ड आगमन अपेक्षित बनेको थियो । युनाइटेडले बिहीबार विज्ञप्ति जारी गर्दै यो खवरको पुष्टि गरेको हो ।

क्लबमा आबद्ध भएसँगै टेन ह्यागले म्यानचेस्टर युनाइटेडको प्रशिक्षकमा नियुक्ती पाउनु ठुलो सम्मानको कुरा रहेको र अगाडिको चुनौतीबाट निकै उत्साहित रहेको बताएका छन् । टेन ह्यागले विगतको चार वर्षको अवधिमा आयाक्समा रहँदा आफुलाई युरोपको सबैभन्दा रोमाञ्चक र सफल प्रशिक्षकको रुपमा प्रमाणित गरिसकेका छन् । उनी आफ्नो टोलीको आकर्षक, आक्रमणकारी फुटबल र युवाप्रतिप्रतिवद्धताका लागि प्रख्यात छन् ।

क्लबले युनाइटेडलाई हामीले प्रतिस्पर्धा गर्न चाहेको स्तरमा फर्काउन उहाँको दीर्घकालीन दृष्टिकोण र त्यो हासिल गर्ने दृढ संकल्पबाट प्रभावित भएकाले अनुबन्धित गरिएको जनाएको छ । ‘हामी एरिकलाई आयाक्समा सिजनको सफल अन्त्य हासिल गर्न ध्यान केन्द्रित गर्ने र यो समरमा म्यानचेस्टर युनाइटेडमा उनलाई स्वागत गर्न तत्पर रहेको र सफलताको कामना गर्दछौं ’ विज्ञप्तिमा उल्लेख छ ।

गत नोभेम्वरमा ओले गनर सोल्सायरलाई बर्खास्ती गरेपछि राल्फ राङ्गनिकले अन्तरिम प्रशिक्षकको रुपमा युनाइटेडको प्रशिक्षण भार सम्हालिरहेका छन् । राल्फको प्रशिक्षणमा पनि युनाइटेडले सोचेअनुरुपको प्रदर्शन गर्न सकेका छैनन् । आयाक्सलाई दुई लिग र डच कपको उपाधि जिताएका टेन ह्यागलाई अर्काे ठुलो निराशजनक अभियानपछि युनाइटेडमा पाँच वर्षको ट्रफी जिताउने जिम्मेवारी दिइनेछ ।

टेन ह्यागको आयाक्स गत साता डच कपको फाइनलमा पिएसभी इन्डोभेनसँग २–१ ले पराजित भएको थियो । डच लिगमा पनि आयाक्स पिएसभीभन्दा ४ अंकले पछि छ । डच लिगमा ७ खेल बाँकी छ । यो सिजन कमजोर प्रदर्शन गरेको युनाइटेड प्रिमियर लिगमा ३३ खेलबाट ५४ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।