२०८१ बैशाख १३, बिहीबार    

होटलभन्दा कम छैनन् चित्लाङका होमस्टे

२०७९ श्रावण १७, मंगलबार १८:२५ बजे

उत्तरी मकवानपुरको पर्यटकीय गन्तव्यमध्येको एक हो चित्लाङ । हेटौंडाबाट र काठमाडौंबाट करिब तीनघण्टाको यात्रापश्चात् पुग्न सकिने थाहानगरपालिका–९ मा रहेको पर्यटकी गाउँ चित्लाङको अर्को विशेषता हो होमस्टे । चित्लाङमा मात्र १३ वटा होमस्टे सञ्चालनमा रहेका छन् ।

आन्तरिक तथा बाह्य पर्यटकहरु त्यहाँको रमणीय स्थलको भ्रमणको क्रममा होटलमा नभएर होमस्टेमै रमाउँछन् । भदौ महिनादेखि वैशाख महिनासम्म होमस्टेमा पर्यटकको घुइँचो नै लाग्ने गरेको छ । ‘सार्वजनिक विदाको दिन, विद्यालय तथा कलेज विदाको समयमा एकहप्ता अगाडिबाटै होमस्टे बुकिङ्ग भइसक्छ ।’, गर्जुधारा होमटस्टेका सञ्चालक बुद्धरत्न मानन्धरका अनुसार त्यसक्षेत्रमा सञ्चालनमा रहेका होमस्टेले दिने सेवा होटलकोभन्दा राम्रो छ । उनका अनुसार थानकोटबाट चित्लाङको दुरी १९ किलोमिटर भएपनि सडकको अवस्था नाजुकहुँदा समस्या भइरहेको छ ।

होमस्टेमा प्रतिदिन प्रतिव्यक्ति एकहजार पाँचसय रुपैयाँ लिने गरिएको छ । पर्यटक आउने वित्तिकै टिका लगाएर अण्डा खुवाउँदै सगुन दिएर स्वागत गरिने र त्यसक्षेत्रको बारेमा जानकारी गराइने गरिएको छ । बेलुकाको खाना, सुत्न र विहानका खाजा तथा टिका लगाएर सगुन खुवाएर विदाई होमस्टे सञ्चालकहरुले गर्ने गरेका छन् । सन् २०११ बाट त्यसक्षेत्रमा पर्यटन बोर्डको सहयोगमा होमस्टे सञ्चालन गरिएको थियो । पर्यटन बोर्ड र तत्कालि जिल्ला विकास समितिले तालिम प्रदान गर्दै आर्थिक सहायता समेत प्रदान गरेर होमस्टे सञ्चालनमा ल्याएपछि त्यसक्षेत्रमा पर्यटकको आगमनमा ह्वात्तै वृद्धि भएको हो ।

जोशी होमस्टेका सञ्चालक मोहन जोशीका अनुसार विशेष गरी शुक्रबारको दिन काठमाडौंबाट चन्द्रागिरीहुँदै हाइकिङ्ग गरेर त्यसक्षेत्रमा आउने पर्यटकको संख्या धेरै रहेको छ । ‘अहिले यसक्षेत्रमा करोडौं खर्च गरेर रिसोर्ट तथा होटलहरु समेत सञ्चालन भइरहेका छन् । तर, पनि अहिले यसक्षेत्रमा आउने पर्यटकहरु सुरुमा होमस्टेमा बस्न खोज्छन् । तर, रुम नपाएपछि होटल तथा रिसोर्टतर्फ जान्छन् ।’ प्राकृतिक तथा प्राचिन सम्पदाले भरिएको चित्लाङ नजिकै रहेको मानव निर्मित नेपालको सवैभन्दा ठूलो ताल कुलेखानी, बाख्रा विकास फार्मको मैदान, दामान, पालुङ क्षेत्रमा रमाउन विशेष गरी आन्तरिक पर्यटकहरु बढी आउने जोशी होमस्टेका सञ्चालक जोशीले बताए ।

पर्यटन विकास बोर्डले चार वर्षअघि मुलुकको पहिलो पर्यटकीय गाउँ घोषणा गरेपछि त्यसक्षेत्रमा घुम्नका लागि मात्र नभएर डकुमेन्ट्री, फिल्म, गीतको भिडियो बनाउने तथा सभा एवम् गोष्ठी गर्नेहरुको संख्या समेत बढी रहेको स्थानीयहरुले बताएका छन् । थानाकोट–चन्द्रागिरीहुँदै चित्लाङ आउने मोटर बाटो निर्माण भएको खण्डमा अझै त्यसक्षेत्रमा पर्यटक बढ्ने दाबी स्थानियको छ ।