२०८० चैत्र १६, शुक्रबार    

महिला नेता हो भन्ने विश्वास बढेर नै मैले मेयर जितेको हो : लामा

२०७९ भाद्र २६, आईतबार १७:०३ बजे

हेटौंडा उपमहानगरपालिकाकी मेयर मीना लामाले महिलालाई नेता मान्ने र विश्वास गर्ने वातावरण बनिरहेको बताएकी छन् । महिलाले निर्वाचनमा जित हासिल गर्छन् भन्ने विश्वास राजनितिक नेतृत्व र जितेपछि राम्रो काम गर्छ भन्ने प्रभाव मतदातामा परेको आफूलाई अनुभूति भएको उनले बताइन् । 

कान्तिपुर मिडिया ग्रुपद्वारा आयोजित तेस्रो कान्तिपुर कन्क्लेभको दोस्रो दिनको 'नेतृत्वमा महिला अब पहिला' शीर्षकको चौथो सत्रमा बोल्दै लामाले अहिले पनि महिलालाई नेतृत्वमा ल्याउनबाट पछि हट्यो भने समाज अगाडि बढ्न सक्दैन भन्ने आभाष राजनीतिक नेतृत्व र जनतामा परेको बताइन् ।

'नेताका रूपमा महिलाहरूप्रति विश्वास बढेर नै मैले आज निर्वाचन जितेको हो । अहिले पनि हामी महिलालाई नेता मान्न सकेनौं र अविश्वास गरिरह्यौं भने अगाडि बढ्दैनौं भन्ने लागेको छ,' उनले भनिन् ।

निर्वाचनमा आर्थिक स्रोतको अभावमा महिलालाई प्रत्यक्षमा लड्न समस्या हुन्छ कि भन्ने परे पनि हेटौंडा उपमहानगरपालिकाको मेयर जित्ने क्रममा अत्यधिक पैसा खर्च गर्न नपरेको लामाको भनाइ थियो । उनले आफूलाई कसैले पनि निर्वाचन लड्न पैसा नदिएको र आफू पनि कसैकोमा निर्वाचनका लागि खर्च माग्न नगएको बताइन् ।

मतदातामा भने पैसा नभए जित्न सकिन्न कि भन्ने भान परेको लामाको भनाइ थियो । कतिपयले महिला नै भएकाले पनि हार्छ भन्ने कुरा सुनाएको उनले सुनाइन् । 'मतदान गर्ने दुई-तीन दिनअघि केही महिलाले भन्नुभयो पैसा खर्च नगरकेाले हार्दैहुनुहुन्छ; महिला भएकाले हार्दै हुनुहुन्छ भन्नुभयो । महिला भएकाले हारे भने महिला आन्दोलन बाँकी रहेछ भन्ने बुझ्नुपर्ला भन्ने मैले भनेकी थिए,' उनले भनिन्, 'त्यतिबेला नै मलाई बौद्धिक वर्गका केही पुरुषले भेट्नुभयो । उहाँहरूले मीना तपाईंले चुनाव जित्नुपर्छ भन्नुभयो ।

तपाईंहरूले सहयोग गर्नुभए जित्छु नत्र हार्छु भनेकी थिए । उहाँहरूले तपाईंले चुनाव जिते मेरो छोरी, श्रीमतीको मनोबल बढ्छ । मेरो आमाले मलाई सिकाइरहनुभएको छ, मीनालाई चुनाव जिताउनुपर्छ भनेर । त्यो सुनेपछि मैले गौरव गरे ।'

चुनाव जित्नका लागि सबैले पैसालगायत सबै संयन्त्रको प्रयोग गर्ने भए पनि आफूलाई छोरा र श्रीमानले सहयोग गरेको बताइन् ।