२०८० चैत्र १५, बिहीबार    

असोज २३ मा उम्मेदवारी दर्ता, प्रचारप्रसार गर्न ३६ दिन समय

२०७९ श्रावण २४, मंगलबार ०८:१८ बजे

निर्वाचन आयोगले आन्तरिक तयारीका लागि आइतबार स्वीकृत गरेको निर्वाचन तालिका अनुसार प्रतिनिधि र प्रदेशसभाको प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता असोज २३ गते हुने भएको छ ।

आयोग स्रोतबाट प्राप्त कार्यतालिका संशोधन नभए प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्षतर्फ उम्मेदवारी मनोनयन असोज २३ मा हुनेछ । आयोगले असोज २६ मा अन्तिम मतदाता नामावली प्रकाशन गरी उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्नेछ । बीचमा उम्मेदवारको सूची प्रकाशन, विरोधको उजुरी, जाँचबुझ, उम्मेदवारको नामावली प्रकाशन, उम्मेदवारको नाम फिर्ता र अन्तिम नामावली प्रकाशनका काम हुनेछन् । आयोगले निर्वाचन प्रचारप्रसारका लागि असोज २७ देखि मंसिर १ सम्म ३६ दिन समय दिने भएको छ । प्रचार सकिएपछि ४८ घण्टाको मौन अवधि सुरु हुनेछ ।

आयोगले साउन १९ सम्म दर्ता भएका ११६ दललाई निर्वाचन प्रयोजनका लागि दर्ता गर्ने प्रक्रिया सुरु गरेको छ । सोमबारसम्म ९ वटा दलले दर्ताका लागि निवेदन दिइसकेको आयोगले जनाएको छ । दल दर्ताको अवधि साउन ३१ सम्म छ । निवेदनमाथि छानबिन भने साउन १ देखि ७ सम्म हुने आयोगले जनाएको छ । दल दर्ता स्वीकृति भदौ ८ मा हुनेछ । आयोगले समानुपातिक निर्वाचनका लागि साउन ३० मा निर्वाचन अधिकृत नियुक्ति गर्ने कार्यतालिका बनाएको छ ।

समानुपातिक निर्वाचन प्रणालीको निर्वाचन कार्यक्रम भदौ १ मै सुरु हुनेछ । समानुपातिक निर्वाचनको मतपत्र मापदण्ड भदौ २० मा स्वीकृत गरी त्यही दिनदेखि छपाइ गरी असोज २५ सम्म सक्ने आयोगको योजना छ । आउँदो निर्वाचनका लागि मतदाताको अन्तिम नामावली भदौ ३१ सम्म प्रकाशन गर्ने आयोगको कार्यतालिकामा उल्लेख छ । शनिबारसम्मको नामावली स्थानीय तहको वडा कार्यालयमा टाँसिनेछ । नामावलीमा दाबी विरोध भए सच्याइन्छ । त्यसपछि मात्रै मतदाता अन्तिम मतदाता यकिन गरिन्छ । यसपालि १ करोड ७८ लाख मतदाता हुने आयोगको आकलन छ । मतदाता निश्चित भएपछि मतदानस्थल र मतदान केन्द्र निर्धारण पनि भदौ ३१ मै टुंग्याउने आयोगले जनाएको छ ।

आयोगले मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको नियुक्ति असोज ११ मा गरेर असोज २१ मा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने भएको छ । कार्यालय स्थापना भएको दुई दिनपछि उम्मेदवारी दर्ता गर्ने योजना बनाइएको हो । प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्षतर्फको मतपत्र छपाइ असोज २८ देखि कात्तिक २७ सम्ममा गर्ने आयोगको योजना छ । मतपत्र ढुवानी भने कात्तिक १६ सम्म गरिसक्ने आयोगले जनाएको छ । मतदान अधिकृत र सहायक मतदान अधिकृतको नियुक्ति कात्तिक २१ र २२ मा र मतदान केन्द्रमा खटिने अन्य कर्मचारीको नियुक्ति कात्तिक २२ र २३ मा हुने भएको छ । मतदान मंसिर ४ बिहान ७ देखि बेलुका ५ बजेसम्म गरेर त्यही दिन मतगणना सुरु गर्ने आयोगको कार्ययोजना छ ।