२०८१ बैशाख ८, शनिबार    

सभामुखमा तीनजनाको उम्मेदावरी, पाठकको पक्षमा बहुमत

२०७९ पौष २८, बिहीबार १४:४८ बजे

वाग्मती प्रदेशको सभामुखका लागि तीजनाले उम्मेदवारी दर्ता गरेका छन् ।

सत्ता गठबन्धनको तर्फबाट राप्रपाका महासचिव भुवन पाठक, नेपाली कांग्रेसका शिवराज अधिकारी र नेपाल मनदुर किसान पार्टीकी सिर्जना सैंजुले सभामुख पदका लागि प्रदेशसभा सचिवालयमा उम्मेदवारी दर्ता गराएका छन् । सभामुखका लागि मतदान भने शुक्रबार हुनेछ ।

उनीहरुले प्रदेशसभा सचिवालय पुगेर उम्मेदवारी दर्ता गराएका थिए । शुक्रबार ११ बजे बस्ने प्रदेशसभा बैठकले सभामुखको निर्वाचन प्रक्रिया पूरा गर्नेछ । प्रदेशसभा सचिवालयले विहान १०.३० बजेदेखि दिउँसो २ बजेसम्म मनोनय गर्ने समय तोकेको थियो ।

पाठकको प्रस्तावकमा एमाले संसदीय दलका नेता जगनाथ थपलिया र सर्मथकमा माओवादी सांसद युवराज दुलाल रहेका छन् । कांग्रेसको तर्फबाट सभामुखमा उम्मेदवारी दिएका अधिकारीको प्रस्तावकमा कुन्दनराज काफ्ले र समर्थकमा रामकृष्ण चित्रकार रहेका छन् ।

नेमकिपाको तर्फबाट सभामुखकी आकांक्षी सैंजुको प्रस्तावकमा संसदीय दलका नेता सुरेन्द्रराज गोसार्इं र समर्थकमा गीता काफ्ले छन् ।
कुल ११० सदस्यीय प्रदेशसभामा पाठकलाई सत्ता गठबन्धनका ७० सांसदको साथ रहेको छ । अधिकारीलाई नेपाली कांग्रेसको ३७ सांसदको साथ रहेको छ । नेमकिपाका ३ सांसद प्रदेशसभामा रहेका छन् ।

सत्तारुढ दलको केन्द्रीय भागबण्डाअनुसार मुख्यमन्त्री माओवादी केन्द्रले, सभामुख राप्रपा र उपसभामुख एमालेले पाउनेछन् । उपसभामुख चयन प्रक्रियाको भने अझै टुंगो लागेको छैन ।