२०८१ बैशाख २१, शुक्रबार    

ईन्द्र बानियाँकाे प्रश्न: जनताकाे सेवा गर्ने बेलामा लालबहादुर, महेशहरु कहाँ थिए ?

२०७९ कार्तिक ४, शुक्रबार १९:०१ बजे
लाेकतान्त्रिक बाम गठबन्धनकाे सिफारिसमा नेपाली कांग्रेसबाट मकवानपुर क्षेत्र नम्बर २ (ख) का प्रदेशसभा सदस्यका उम्मेदवार ईन्द्रबहादुर बानियाँले विपक्षी पार्टी एमालेबाट उम्मेद्वार बनेकाहरुकाे जनपक्षीय कामबारे प्रश्न उठाएका छन् ।
 
यसअघिकाे साढे तीनवर्षसम्म एमाले नेतृत्वकाे सरकार हुँदा आफ्नाे क्षेत्रकाे विकासका लागि केही काम नगरेकाे भन्दै जनताले उनीहरुलाई भाेट हाल्नुपर्ने आधार खाेज्नुपर्ने बताएका हुन् । शुक्रबार मकवानपुरकाे कैलाश गाउँपालिका ३ स्थित कालिकाटारमा भएकाे गठबन्धन दलकाे अगुवा कार्यकर्ता भेलालाई सम्बाेधन गर्दै बानियाँले भने-'महेश वर्ताैला भन्ने ४० वर्षीय युवा अहिलेसम्म कहाँ गएर लुकेर बसेका थिए ? त्यत्राे ३ वर्षसम्म एमालेले एकलाैटी रुपमा सरकार चलाएकाे थियाे । केन्द्र र प्रदेशमै साढे तीन वर्ष लालबहादुर र महेशकाे पार्टीले सरकारकाे नेतृत्व गरिरहँदा याे क्षेत्रमा कति बजेट ल्याए ? गाउँलेका दुखमा कहाँ साथ दिए ? जनताले प्रश्न गर्नेछन् । ' केपी ओेलीकाे चाकडी गरेकै भरमा वर्ताैलाले टिकट पाएकाे भन्दै बानियाँले आफ्नै भूगाेल र परिवेशबारे बर्ताैलालाई राम्ररी जानकारीसमेत नभएकाे दावी गरे ।'हामीलाई पाहुना उम्मेदवार भन्दै हिँड्छन् रे, हाे हामी पाहुना नै भए पनि भूगाेलकाे विकासमा गर्व गर्न लायक काम पनि गरेका छाैं, तर महेश भाईहरुले के गरे ?' बानियाँले भने-'महेशले आफूले आफूलाई र केही आसेपासेबाहेक कसैले पनि भाेट हाल्नेवाला छैनन् ।' मुलुककाे व्यवस्था परिवर्तनकाे लागि आन्दाेलन हुँदा त्यसलाई राेक्न खाेज्ने र देश टुक्र्याउने नारा दिने शक्तिहरुसँग गठबन्धन गरेर एमाले नैतिक रुपमै पतन भएकाे बानियाँकाे भनाइ थियाे ।
 
'हिजाे गणतन्त्रकाे लागि आन्दाेलन हुँदा गाेली हान्ने कमल थापाहरु, तराई टुक्र्याउछु भन्ने सिके राउत जस्तालाई दाेबाटाेमा बसेर एमालेले सूर्य चिन्ह बेचेकाे छ ।' बानियाँले भने 'अब नैतिक रुपमै एमाले भासिइसकेकाे छ । जनताले विश्वास गर्ने आधार नै छैन ।' गठबन्धन दल नेकपा एकीकृत समाजवादीका तर्फबाट मकवानपुर क्षेत्र नम्बर २ का प्रतिनिधिसभभा सदस्य पदका उम्मेदवार बिराेध खतिवडाले मुलुककाे संविधान र वर्तमान व्यवस्था जाेगाउन गठबन्धन एकमत रहेकाे भन्दै जीत सुनिश्चित भइसकेकाे बताए ।
 
'यसपटक गठबन्धन दलबाट मकवानपुरका ६ नै जना उम्मेदवार विजयी नभए म पार्टीकाे पदबाट राजनीनामा दिन्छु, ईन्द्र र कुमारीलाई नै राजीनामा गराउन लगाउँछु ।' खतिवडाले भने- 'चुनावलगतै भाेट गन्दै गर्दा गठबन्धनकाे भाेट देखेर विपक्षीका प्रतिनिधि नै भाग्छन् । गणनाकाे सुरुवातबाटै उनीहरुकाे मुख सुक्न थालिहाल्छ । हाम्रा प्रतिनिधिहरुले पानी खुवाइदिनु ।' गठबन्धन दलका तर्फबाट नेकपा माओेवादी केन्द्रबाट मकवानपुर क्षेत्र नम्बर २ (क) बाट प्रदेशसभा सदस्यकी उम्मेदवार कुमारी मुक्तानले गठबन्धनभित्रका दलबाट उठेका उम्मेदवारलाई प्रतिवद्ध भएर मतदान गर्न कार्यकर्ताहरुमा आग्रह गरिन् । गठबन्धनभन्दा बाहिर गएर मतदान गरेमा ठूलाे धाेका खाइने भन्दै कार्यकर्तालाई उनले सचेत गराइन् ।
 
नेपाली कांग्रेसका महासमिति सदस्य सन्तबहादुर चेपाङले आफू प्रदेशकाे राज्यमन्त्री भएपछि कैलाश गाउँपालिकामा मात्र करिब २३ कराेड बजेट हालेकाे भन्दै हिजाे एमाले नेतृत्वकाे सरकारले कति बजेट हाल्याे हिसाब खाेज्न गठबन्धनका नेता कार्यकर्तालाई आग्रह गरे । नेपाली कांग्रेस कैलाश गाउँपालिका सभापति राजेन्द्र घिसिङकाे अध्यक्षतामा कार्यक्रम भएकाे हाे ।