२०८१ बैशाख १३, बिहीबार    

आज प्रदेश र प्रतिनिधिसभाको निर्वाचन

२०७९ मंसिर ४, आईतबार ०५:५३ बजे

आज अर्थात मंसिर ४ गते । मुलुकभर प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन हुँदैछ । निर्वाचन आयोगले चुनावको सम्पूर्ण तयारी पूरा भएको र ढुक्कसँग मतदान गर्न आम मतदातालाई आग्रम समेत गरेको छ । देशले नयाँ संविधान प्राप्त गरेसँगै दोस्रो पटक तोकिएको समयमा निर्वाचन हुन लागेको हो । पाँच वर्षपछि आएको यो अवसर प्रयोग गर्दै १ करोड ७९ लाख मतदाताले संघीय र प्रादेशिक तहको नेतृत्व छान्दै छन् ।

यो निर्वाचनमा करिब २३ लाख मतदाता (१३ प्रतिशत) पहिलो पटक सहभागी हुँदैछन् । उनीहरूले आफ्ना आकांक्षा वा असन्तुष्टि कसरी प्रकट गर्छन् भन्ने विषयले आगामी दिनको राजनीतिमा प्रभाव पार्ने छ । यही बेला करिब २२ लाख मतदाता (११ प्रतिशत) विदेशमा छन्  । विदेशमा रहेका आफ्ना नागरिकलाई मतदानको अधिकार दिने अभ्यास विश्वका थुप्रै देशले गरिसक्दा र हाम्रै सर्वोच्च अदालतले आदेश दिँदासमेत नेपालमा त्यस्तो अधिकार छैन  ।

यो निर्वाचनबाट प्रतिनिधिसभामा २७५ (प्रत्यक्ष १६५ र समानुपातिक ११०) र प्रदेशसभामा ५५० (प्रत्यक्ष ३३० र समानुपातिक २२०) सांसद चयन हुनेछन् । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ ६१ दलका १ हजार ५४५ र स्वतन्त्र ८६७ जना प्रतिस्पर्धामा छन्  । प्रतिनिधिसभाको समानुपातिकतर्फ २ हजार १९९ उम्मेदवार छन् । प्रदेशसभामा ३३० सिटका लागि प्रत्यक्षमा ३ हजार २२४ जना प्रतिस्पर्धामा छन् भने समानुपातिकमा ३ हजार ७०८ जना उम्मेदवार छन् ।

१ करोड ७९ लाख ८८ हजार ५ सय ७० मतदातामध्ये झन्डै १२ प्रतिशत अर्थात् २२ लाख ९४ हजार १९ जना पहिलो पटक मतदानमा सहभागी हुँदै छन्  । निर्वाचन आयोगका अनुसार २०७४ मा भएको आमनिर्वाचनयता २५ लाख ६० हजार ८ सय ३९ मतदाता थपिएका छन्  । ६ महिनाअघि भएको स्थानीय तह निर्वाचनयता मात्रै २ लाख ५४ हजार मतदाता थपिएका हुन् । कुल मतदातामध्ये पुरुष ९१ लाख ४० हजार ८ सय ६, महिला ८८ लाख ४७ हजार ५ सय ७९ र अन्य मतदाता १ सय ८५ छन् । अस्थायी मतदाता ४ लाख ५० हजार छन् । विदेशमा रहेका २१ लाख ५९ हजार जना भने यस पटक पनि मतदानबाट वञ्चित भएका छन् ।

मतदाता परिचयपत्र नभएमा नागरिकता, राहदानी, जग्गाधनी प्रमाणपुर्जा, सवारी अनुमतिपत्र, राष्ट्रिय परिचयपत्र देखाएर मतदान गर्न पाउने व्यवस्था मिलाएको निर्वाचन आयोगले जनाएको छ । मतदान केन्द्रमा मोबाइल, क्यामेरा, सलाइ, लाइटर लैजान निषेध गरिएको छ । त्यस्तै अपांगता भएका, सुत्केरी, अशक्त, ज्येष्ठ नागरिक, गर्भवतीलाई सहजै मतदान गर्ने व्यवस्था मिलाएको आयोगको दाबी छ ।

१० हजार ८ सय ९२ मतदानस्थलमा २२ हजार २ सय २७ मतदान केन्द्र कायम गरिएको छ । यसमध्ये एक सय केन्द्र अपांगमैत्री बनाएको आयोगले जनाएको छ । कैदी, बन्दी, सुरक्षाकर्मी, कर्मचारी, वृद्धाश्रममा रहेकालाई मतदानको व्यवस्था गर्न १ सय ४१ अस्थायी मतदानस्थल कायम गरिएको छ । निर्वाचन गराउन देशैभरि २ लाख ४६ हजार ९ सय ६० कर्मचारी खटिने आयोगले जनाएको छ । त्यस्तै मतदानस्थलको सुरक्षाका लागि २ लाख ९८ हजार सुरक्षाकर्मी खटिएका छन् । आयोगका अनुसार ७१ हजार ६ सय ९३ प्रहरी, १ लाख १५ हजार म्यादी प्रहरी, ७४ हजार ८ सय ४९ सेना, ३५ हजार १ सय १६ सशस्त्र प्रहरी र १ हजार ८ सय २१ जना राष्ट्रिय अनुसन्धान विभागका कर्मचारी खटिएको आयोगले जनाएको छ ।