२०८१ बैशाख ८, शनिबार    

डिनाको कदम रोक्न कमल र दीपकलाई हम्मेहम्मे

२०७९ मंसिर ६, मंगलबार १८:०६ बजे

मकवानपुर–१ मा विगत १५ घण्टादेखि निरन्तर रुपमा सत्तारुढ गठबन्धनकी उम्मेदवार नेपाली कांग्रेसकी केन्द्रीय सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिनाले अग्रता कायम राखेकी छिन् ।

 मतगणना शुरु भएदेखि नै अग्रता लिएकी डिनाले पछिल्लो समय मतान्तर पनि बढाउँदै लगेकी छिन् । डिनालाई रोक्ने प्रयासमा रहेका पूर्वसहयात्रीहरू कमल थापा र दीपकबहादुर सिंह धेरै मतान्तरले पछाडि पर्दैै गएका छन् ।

हालसम्म १६ हजार ८०० मतगणना हुँदा डिनाले ७ हजार ५७८,थापाले ५ हजार ११५ र सिंहले २ हजार ४८३ मत पाएका छन् ।

कुुनै पनि हालतमा चुनाव जित्ने दाउसहित एमालेको सूर्य चिह्नबाट चुनावी मैदानमा होमिएका राप्रपा नेपालका केन्द्रीय अध्यक्ष कमल थापाले हाल डिनाभन्दा २ हजार ४६३ मतले पछाडि परेका छन् ।

गत स्थानीय तहको निर्वाचनमा अप्रत्यासित रुपमा हेटौंडाको मेयरमा लोकप्रिय मत पाएर हौसिँदै प्रतिनिधिसभामा उम्मेदवारी दिएका राप्रपाका सिंह डिनाभन्दा ५ हजार ९५ मतले पछाडि छन् ।

थापा र सिंह डिनासँग एकपटक पनि प्रतिष्पर्धामा नै आउन सकेका छैनन् । मकवानपुर–१ मा मुख्य प्रतिष्पर्धीको रुपमा हेरिएको यी ३ जनाबीच एकअर्कासँगको दूरी बढ्दै गएको छ ।

चौथोपटक चुनावी मैदानमा होमिएकी डिना पहिलो जीतको खोजीमा छिन् भने आठौं पटक उम्मेदवार बनेका थापा तेस्रो पटक विजयी बन्न चाहन्छन् ।

उता हरेक स्थानीय तह र संघीय चुनावमा भाग लिने सिंह हालसम्म कतिपटक उम्मेदवार बने भन्ने यकिन छैन तर निरन्तर चुनाव हार्नेहरूबीचको प्रतिष्पर्धामा कसले बाजी मार्ला भन्ने सबैको चासोको विषय बनेको छ ।