२०८१ बैशाख २६, बुधबार    

नेपाली क्रिकेटर पहिलो पटक फिक्सिङ काण्डमा

२०७९ माघ १०, मंगलबार ०९:३८ बजे

नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर मोहम्मद आदिल आलम र पूर्वराष्ट्रिय क्रिकेटर महबुब आलम ‘लाइभ बेटिङ’ र ‘स्पट फिक्सिङ’ गरेको आरोपमा पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले महबुबलाई विराटनगर र आदिललाई राजविराजबाट पक्राउ गरेको हो ।

दुई साताअघि सम्पन्न विवादास्पद नेपाल टी–२० लिगलाई क्रिकेट लाइभ बेटिङ, स्पट फिक्सिङ, म्याच फिक्सिङ, पारिश्रमिक विवाद र आयोजकमध्येको एक पक्ष फरार प्रकरणले गाँजेपछि गृह मन्त्रालयले छानबिन गर्न सीआईबीलाई निर्देशन दिएको थियो । प्रारम्भिक अनुसन्धानपछि दुई क्रिकेटर पक्राउ परेका हुन् । राजविराजस्थित पब्लिक विन्देश्वरी माविको खेल मैदानबाट पक्राउ गरिएका आदिल र विराटनगरको भिन्तुना होटलबाट समातिएका महबुबलाई प्रहरीले काठमाडौं ल्याइसकेको छ । बारा घर भएका आदिल जानकी उच्च माध्यमिक विद्यालयका तर्फबाट मुन्ना साह मेमोरियल अन्तरकलेज क्रिकेट प्रतियोगिता खेल्न राजविराज पुगेका थिए ।

महबुब र आदिल पक्राउका विषयमा मंगलबार पत्रकार सम्मेलन गरेर विस्तृत जानकारी दिने सीआईबीका वरिष्ठ प्रहरी उपरीक्षक दिनेश आचार्यले बताए । सीआईबीका अनुसार यस प्रकरणमा अन्य पनि अनुसन्धान घेराभित्र रहेका छन् । ‘खेलाडीलाई लाइभ बेटिङ र स्पट फिक्सिङका लागि प्रस्ताव राख्नेहरू व्यक्तिगतभन्दा पनि संस्थागत हिसाबमै देखिएको छ,’ आचार्यले भने, ‘विदेशी खेलाडी र खेलाउनेहरू पनि यसमा संलग्न देखिएका छन् । अनुसन्धान गरिरहेका छौं ।’ फिक्सिङ काण्डमा नेपाली क्रिकेट खेलाडी परेको यो पहिलो घटना हो ।

महबुबले सन् २००० देखि २०१७ सम्म राष्ट्रिय टोलीबाट खेल्ने क्रममा एकदिवसीयमा सबै १० विकेट लिने दुर्लभ कीर्तिमान बनाएका थिए । २००८ मा न्युजर्सीमा मोजाम्बिकविरुद्धको खेलमा उनले पाएको त्यो सफलता तीव्र गतिका बलरको हकमा विश्व क्रिकेटमै पहिलो हो । महबुब ५० ओभरको खेलमा नेपालबाट १ सय विकेट लिने पहिलो खेलाडीसमेत हुन् । आदिल गत वर्षदेखि राष्ट्रिय टोलीबाट खेल्दै आएका छन् । उनले आफूलाई राम्रो अलराउन्डरका रूपमा स्थापित गरेका छन् ।

नेपाल टी–२० लिगमा कमेन्ट्री गरिरहेका सचिन तिमिल्सेनाले खुलमखुला लाइभ बेटिङ र स्पट फिक्सिङ भइरहेको आरोप लगाउँदै प्रतियोगिताबाट आफू अलग भएको घोषणा गरेका थिए । काठमाडौं नाइट्सका कप्तान ज्ञानेन्द्र मल्लले आफ्ना एक खेलाडीमाथि सट्टेबाजले प्रस्ताव गरेपछि आफूहरूले एन्टी करप्सन युनिट (एसीयू) मा उजुरी दिएको जनाएका थिए । त्यसपछि गृह मन्त्रालयले अनुसन्धान प्रक्रिया अगाडि बढाएको थियो भने राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले छुट्टै छानबिन समिति बनाएको थियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि नेपाल टी–२० लिगका विषयमा एक साताभित्र विवरण बुझाउन राखेपलाई निर्देशन दिएको थियो ।

नेपाल टी–२० लिगमा लाइभ बेटिङ र स्पट फिक्सिङ भइरहेको घटना बाहिर आएको दुई दिनपछि आईसीसीको प्रतिनिधिमण्डल अकस्मात् काठमाडौं आएको थियो । आईसीसी इन्ट्रिग्रिटी युनिटका एन्ड्रयु इफग्रेभको नेतृत्वमा आएको टोलीले त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा नेपाल टी–२० लिगको खेल हेर्नुका साथै राखेपका सदस्य–सचिव टंकलाल घिसिङ, सीआईबीलगायतका टोलीसँग छलफल गरेको थियो । सट्टेबाजले प्रस्ताव गरेका खेलाडी र नेपालका अन्य प्रमुख खेलाडीसँग पनि टोलीले सोधपुछ गरेको थियो ।