२०८० चैत्र १६, शुक्रबार    

तीन दिनमा उपत्यकाबाट बाहिरिए १ लाख ७८ हजार ५८४ यात्रु

२०७९ मंसिर ३, शनिबार १४:०३ बजे

निर्वाचनका लागि शनिबार बिहानसम्म काठमाडौं उपत्यकाबाट १ लाख ७८ हजार ५३४ जना यात्रु बाहिरिएका छन् । आआफ्ना जिल्लामा मतदाताहरूलाई लैजान दलहरूबीच प्रतिस्पर्धा चलेको छ । 

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार शुक्रबार र शनिबार बिहानसम्म ९ हजार २१७ सवारीमा ६५ हजार १४३ जना यात्रु बाहिरिएका हुन् ।

अधिकांश यात्रुहरू रिजर्भ गाडीमा गएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एसएसपी राजेन्द्रप्रसाद भट्टले बताए । उनका अनुसार शनिबार साँझसम्म मतदानका लागि यात्रु बाहिरिने छन् । कोटेश्वर, गौशाला, चावहिल, गोंगबु र कलंकी लगायत स्थानमा विभिन्न जिल्ला जाने यात्रुको भीड छ ।

‘सबैभन्दा धेरै यात्रु शुक्रबार र शनिबार बाहिरिएका छन्,’ एसएसपी भट्टले भने, ‘उपत्यका छाड्ने बढेका र सार्वजनिक बिदाले गर्दा उपत्यकामा अघिपछि भन्दा ट्राफिक जाम कम छ ।’ उपत्यकाका सडकमा सवारी चाप कम छ । कम सवारी गुडेको ट्राफिक प्रहरीले जनाएको छ ।

अघिपछि उपत्यका भित्रिने र बाहिरिने यात्रुको संख्या उस्तै भए पनि अहिले भित्रिने भन्दा बाहिरिने यात्रुको संख्या धेरै रहेको एसएसपी भट्टले जानकारी दिए । उनका अनुसार बुधबार ७ हजार ७०९ सवारीमा ५५ हजार १४७ यात्रुले उपत्यका छाडेका थिए । बिहीबारदेखि शुक्रबार बिहानसम्म ८ हजार सवारीमा ५८ हजार २९४ यात्रु बाहिरिएका छन् ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजय स्वारका अनुसार विभिन्न पार्टीका उम्मेदवारले आआफ्नो हिसावले गाडी रिजर्भ गरेर मतदाता लगिरहेका छन् । महासंघका अनुसार स्थानीय तहको चुनावमा करिब १० लाख हाराहारी यात्रु बाहिरिएका थिए । अहिले भने तिहारमा गएका यात्रु कमै फर्किएका र विद्यार्थी लगायत सर्वसाधारण फेरि भोट हाल्न आआफ्नो जिल्ला गएको उनको भनाइ छ । गाडी समयमै नपुग्ने ठाउँमा जहाज र हेलिकप्टरमार्फत पनि उम्मेदवारले मतदाता लगिरहेको अध्यक्ष स्वारले बताए ।