२०८१ बैशाख ७, शुक्रबार    

बकैयामा खोलामा डुबेर बालकको मृत्यु

२०७९ आश्विन ४, मंगलबार १२:१२ बजे

मकवानपुरको बकैया गाउँपालिका–४ बाघमारास्थित ल्वाजोर खोलामा डुबेर एक जना बालकको मृत्यु भएको छ । 

मृत्यु हुनेमा चितवनको भरतपुर महानगरपालिका–१६ स्थायी घर भएका १६ वर्षीय सचिन थापा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । आफन्त विष्णुबहादुर खत्रीको घरमा आएका उनी आज दिउँसो नुहाउन नजिकैको ल्वाजोर खोलामा गएका थिए ।

नुहाउने क्रममा पानीमा डुबेर घाइते भएका थापालाई हात्तिसुँडे प्रहरी चौकीबाट खटिएको टोलीले उपचारका लागि प्राथमिक स्वास्थ्य चौकी छतिवन लगेको थियो । घाइतेको स्वास्थ्य अवस्था गम्भीर भएका कारण थप उपचार गर्न हेटौंडा–११ थानाभर्याङस्थित चुरेहिल अस्पताल ल्याइएको थियो ।

चुरेहिल अस्पतालले उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक एवम् प्रवक्ता टेकबहादुर कार्कीले जानकारी दिए ।