२०८१ बैशाख १४, शुक्रबार    

अब ट्रायल फेल भएपनि लाइसेन्स हातमा

२०७९ भाद्र २५, शनिबार १४:०७ बजे

अब सवारी चालक अनुमतिपत्र (लाइसेन्स) परीक्षामा कहीँकतै छोए वा भुइँ टेकिएमा अनुत्तीर्ण भइन्छ भन्ने चिन्ता नलिए हुन्छ । यस्तो परीक्षामा कम्तीमा ७० अङ्क प्राप्त गर्नुभएमा मजाले लाइसेन्स हात पर्नेछ । बागमती प्रदेशमा आगामी असोज १ गतेबाट सवारी चालक अनुमतिपत्रको परीक्षामा नयाँ मापदण्ड लागू हुँदै छ ।

 

नयाँ मापदण्डअनुसार प्रयोगात्मक (ट्रायल) परीक्षामा ७० अङ्क ल्याए उत्तीर्ण हुने व्यवस्था गरिएको छ । यसबाट पटक–पटक अनुत्तीर्ण भई लाइसेन्स प्राप्त गर्न नसकेकाहरूका लागि राहत हुने भएको छ । बागमती प्रदेशको श्रम तथा यातायात मन्त्रालयका प्रवक्ता हरिहर पोख्रेलले नयाँ मापदण्ड कार्यान्वयनको तयारी भइरहेको जानकारी दिए ।

 उनले भने, “सम्भवतः पाँचवटै यातायात कार्यालयबाट नयाँ निर्देशिका अनुसार परीक्षा सञ्चालन गर्नेछौँ । भ्याउने अवस्था नरहेमा असोज १ गतेबाट दुई वा तीनवटा कार्यालयमा नयाँ व्यवस्थाअनुसारको परीक्षा सञ्चालन गरिनेछ ।” बागमती प्रदेशमा पाँचवटा यातायात कार्यालय छन् ।

सवारी चालक अनुमतिपत्र परीक्षा सञ्चालन निर्देशिका अनुसार परीक्षामा मोटरसाइकल, स्कुटर, मोपेड, कार, जिप र डेलिभरी भ्यानको लाइसेन्सको ट्रायललाई सहज बनाइको छ । सो व्यवस्थाअनुसार घुमाउरो (अङ्ग्रेजीको आठ) मा एक पटकसम्म रेखा छोएमा अनुत्तीर्ण हुनुपर्ने छैन । रेखा छोएमा पाँच अङ्क घट्नेछ । त्यस्तै एक पटक खुट्टाले भुइँमा टेके पनि अनुत्तीर्ण हुने अवस्था रहनेछैन ।

 त्यस्तो स्थितिमा थप पाँच अङ्क घट्नेछ । युटर्नमा टर्निङ इन्डिकेटर लाइट नबाले १० अङ्क घट्नेछ । ट्राफिक सङ्केत पालना नगर्दा १५ अङ्क घट्नेछ । “सबैमा अङ्क घट्दै गएर ७० भन्दा कम आएमा मात्र लाइसेन्स पाउन योग्य मानिने छैन,” उनले भने । खाल्टाखुल्टीमा एक पटकसम्म भुइँमा टेकेमा पाँच अङ्क घट्ने छ । एक पटक सवारीको स्टार्ट बन्द भए पाँच अङ्क घट्नेछ । सवारी चलाउनु अगाडि सवारीको ब्रेक, टायर र ऐनाको सामान्य निरीक्षण नगरे तीन अङ्क घट्नेछ ।

हेलमेटको लक नलगाई सवारी चलाएमा चार अङ्क घट्नेछ । विगतमा भने यी व्यवस्थामध्ये कुनै एउटा गल्ती गरे अनुत्तीर्ण गरिन्थ्यो । मन्त्रालयका प्रवक्ता पोखरेलले लिखित परीक्षामा पहिलाकै व्यवस्था कायम गरिएको जानकारी दिए ।

लिखित परीक्षाका लागि ५०० ओटा प्रश्न समावेश गरिएको दुई ओटा प्रश्न सङ्ग्रह यातायात व्यवस्था विभागले सार्वजनिक गरिसकेको छ । लिखितमा तिनै प्रश्नबाट १०० पूर्णाङ्कको प्रश्न सोधिनेछ ।