२०८१ जेठ ८, मंगलबार    

टिपरले टेरेन प्रहरी–ट्राफिकलाई

२०७८ माघ १७, सोमबार १८:३७ बजे


हेटौंडा/ ओभरलोड बोक्ने टिपरलाई दैनिकरुपमा मकवानपुर प्रहरी प्रशासनले कारबाही गरिरहेको छ । तर, पनि उनीहरुले दिनदिनै प्रहरी र ट्राफिकलाई पूर्णरुपमा वेवास्ता गर्दै ओभरलोड बोकिरहेका छन् ।

प्रहरीले सोमबार ट्राफिक नियम उल्लंघन गर्ने १०९ वटा सवारीलाई कारबाही गरेको छ । जुन पछिल्लो एकहप्तामा गरिएको सवैभन्दा ठूलो कारबाही हो । ‘हामीले फरक फरक समयमा चेकजाँच गरिरहेका छौं । तर, टिपरले टेरिरहेको छैन । हामी दैनिकरुपमा अनुगमन गरिरहेका छौं ।’, जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले भने । उनका अनुसार प्रहरीले दैनिकरुपमा कारबाही गरेपछि ओभरलोड बोक्ने टिपरको संख्या घट्नुभन्दा पनि प्रहरीको आँखा छल्न सकिन्छ कि भन्ने जमात बढीरहेको छ ।

सोमबार जिल्ला प्रहरी कार्यालय मकवानपुर र ट्राफिक प्रहरी कार्यालय मकवानपुरबाट हेटौंडा–११, १५, १९ नम्बर वडामा, भीमफेदी गाउँपालिका–१, ६ नम्बर वडा तथा मनहरी गाउँपालिका–७ मा विशेष चेकिङ गरिएको थियो ।

पछिल्लो समय विशेष गरी शिवम् सिमेन्ट, ऋषिसिद्धी सिमेन्टका टिपरले ओभर लोड बाक्ने गरेको जनगुनासो आएसँगै प्रहरीले राजमार्गको चेकजाँचलाई तीब्रता दिइरहेको छ । ओभर लोड बाक्ने टिपरका कारण सवारी दुर्घटना बढेको र सडक विग्रिएको आरोप हेटौंडाबासीले लगाउने गरेका छन् ।