२०८१ बैशाख २८, शुक्रबार    

हेटौंडामा रगतको अभाव

२०७८ माघ १४, शुक्रबार १७:०७ बजे

हेटौंडा/ हेटौंडामा रगतको अभाव भएको छ । ब्लड वैंक हेटौंडाका अनुसार पछिल्लो एकहप्तादेखि हेटौंडामा रगतको अभाव भइरहेको हो ।

माघ महिनामा हेटौंडामा रगत संकलन दर न्यून भएपछि रगतको अभाव भएको ब्लड वैंक हेटौंडाका प्रमुख टंक दाहालले जानकारी दिए । उनका अनुसार अहिले बी पोजेटिभ र ओ पोजेटिभ रगतको अभाव रहेको छ । ‘हामीले नियमित रक्तदातालाई बोलाएर रगत संकलन गरिरहेका छौं । यस महिनामा संघसंस्थाहरुले रक्तदान कार्यक्रम आयोजना गरेका छैनन् । जसको कारण केही समस्या भइरहेको छ ।’, उनले यस्तै अवस्था रहेको खण्डमा ब्लड वैंकले नै केहीदिनमा रक्तदान कार्यक्रम सञ्चालन गर्ने बताए ।

उनका अनुसार हेटौंडामा दैनिक ८ युनिटको हाराहारीमा रगतको माग रहेको छ । ‘अघिल्लो महिना २८० युनिट रगत संकलन भएको थियो । त्यसकारणले हामीले रगत संकलन केही समय गरेनौं । जसको असर अहिले परिरहेको छ ।’, दाहालका अनुसार एकपटक संकलन गरिएको रगत ३५ दिनभित्रमा प्रयोग गरिसक्नुपर्नेहुन्छ ।