२०८१ बैशाख १३, बिहीबार    

वाग्मतीमा मुख्यमन्त्री परिवर्तनको कसरत

२०७९ असार १०, शुक्रबार ११:१० बजे

वाग्मती प्रदेशमा सत्ता परिवर्तनको कसरत सुरु भएको छ । पूर्वसहमति अनुसार चुनावी सरकारको नेतृत्व नेपाली कांग्रेसले गर्नुपर्नेभन्दै प्रदेशको मुख्यमन्त्री परिवर्तनको चर्चा सुरु भएको हो ।

हाल सत्तारुढ गठबन्धनको नेतृत्व गर्दै नेकपा (एकीकृत) समाजवादी संसदीय दलका नेता राजेन्द्र पाण्डे मुख्यमन्त्री रहेका छन् । आगामी आर्थिक वर्ष २०७८/०७९ को बजेट पास भएपछि पूर्वसहमति अनुसार नेपाली कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ सत्तारोहणको तयारीमा छन् । वाग्मती प्रदेशसभाको वैठक असार १२ गतेका लागि डाकिएको छ ।

‘तत्कालिन समयमा ६/६ महिनाको सहमति भएको । सहमति पत्र पनि हामीसँग सुरक्षित रहेको छ । सोही अनुसार अब हाम्रो नेतृत्वको सरकार गठन हुन्छ ।’, पाण्डे नेतृत्वको मन्त्रिपरिषदमा रहेका एक मन्त्रीले भने । उनका अनुसार असार २५ गतेभित्र नयाँ मुख्यमन्त्री फेरिने गरी कांग्रेसले लविङ गरिरहेको छ । ‘केन्द्रमा मन्त्रिपरिषद् फेरबदलको कुरा भइरहेको छ । त्यसको असर यहाँ पनि पर्ने निश्चित छ ।’, उनले थपे ।

पाण्डे गतकात्तिक ११ गते ६ महिनापछि नेतृत्व छाड्ने गरी नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जसपा र नेकपा (एस) को समर्थमान मुख्यमन्त्री बनेका थिए । उनलाई माओवादी २३, नेपाली कांग्रेस २२, नेकपा (एस) १३ र जसपाको एकसहित ५९ सांसदको समर्थन रहेको थियो । कांग्रेसले सहमति अनुसार सहजै आफूले सत्ता प्राप्त गर्नेपर्ने माग गरेपनि मुख्यमन्त्री पाण्डे भने केन्द्रीय नेतृत्वको निर्देशनपश्चात् मात्र पछाडि हट्ने भनेर पन्छि रहेका छन् । कांग्रेस ससंदीय दलका नेता बानियाँले आधा–आधा समय मुख्यमन्त्री बन्ने सहमति पत्र कार्यान्वयन गर्न दबाब दिन थालेपछि पछिल्लो समय दुवैजनाको भेटघाट नै ठप्प रहेको छ ।

‘सहमतिअनुसार अब मुख्यमन्त्री परिवर्तन हुन्छ । प्रदेश सरकारको कार्यकाल सकिने आधा अवधि नेकपा एस संसदीय दलका नेता राजेन्द्र पाण्डे र आधा अवधि कांग्रेस संसदीय दलको नेता मुख्यमन्त्री बन्ने सहमति भएको हो ।’, उनले भने । तत्कालिन समयमा नेपाली कांग्रेस केन्द्रीय प्रवक्ता प्रकाशरण महतको उपस्थितिमा कांग्रेस र नेकपा एसवीच सहमति भएको थियो ।

बानियाँले आफू मुख्यमन्त्री बन्ने निश्चित रहेकोभन्दै आगामी आवको बजेटमा धेरैभन्दा धेरै योजना समेट्न समेत दबाब सिर्जना गरेका थिए । वाग्मतीमा मुख्यमन्त्री परिवर्तनहुँदा आफ्नो नेतृत्व सरकार बन्ने पक्का रहेको बताए । केन्द्र सरकारले निर्वाचन आयोगको सुझाव अनुसार असारको अन्तिम सातासम्ममा प्रदेश र संघको निर्वाचनको मिति तोक्ने सम्भाना रहेका कारण त्यसअघि नै यस विषयको टुंगो लाग्ने उनको दावी छ । ‘प्रदेश र संघीय निर्वाचनको मिति असारभित्रै घोषणा हुने सम्भावना प्रवल छ त्यसकारण चुनावको मिति घोषणा अघि केन्द्रीय नेतृत्वको मुख्यमन्त्री फेरबदल टुंग्याउने भनिएको छ ।’, बानियाँले भने ।

नेकपा माओवादी केन्द्र संसदीय दलका नेता शालिकराम जम्मकट्टले पनि सरकार परिवर्तनको पक्षमा रहेका छन् । हाल आर्थिक मामिला तथा योजना मन्त्रीसमेत रहेका जम्मकट्टेलले सत्तारुढ दलवीच भएको सहमति र सम्झौता पूर्णरुपमा कार्यान्वयन हुन जरुरी रहेको बताउँछन् । ‘राजेन्द्र पाण्डे र इन्द्रबहादुर बानियाँ आधा–आधा अवधि मुख्यमन्त्री हुने सम्झौता भएको हो । मुख्यमन्त्री ज्यूले सम्झौता कार्यान्वयन गर्नुपर्छ । राजनीतिमा इमानदारिता कायम गर्नपनि सहमति कार्यान्वय गर्नुपर्ने हुन्छ ।’, उनले मुख्यमन्त्री पाण्डेले सहजै सहमति अनुसार मार्ग प्रशस्त गरेको खण्डमा गठबन्धन थप बलियो हुने दावी गरे । ‘सहमति कार्यान्वयन भएपश्चात् गठबन्धन अझै बलियो हुन्छ । यसले प्रदेश र संघको निर्वाचनलाई समेत सहजता प्रदान गर्छ ।’, उनले मुख्यमन्त्री नै पविर्तन हुने भएपछि मन्त्रिपरिषद् स्वत: परिवर्तन हुने बताए ।

मुख्यमन्त्री पाण्डेले सत्तापरिवर्तनको विषय केन्द्रमा निर्भर रहेको बताए । ‘केन्द्रीय सहमति अनुसार सरकार परिर्वतन हुने हो ।’, उनले तत्काल मुख्यमन्त्री फेरबदल हुने सम्भावना नदेखिएको समेत दाबी गरे । पाण्डेले पार्टीको शीर्ष नेताबाट आफू मुख्यमन्त्री नरहनेबारे निर्णय आएमा तत्काल मान्न तयार रहेको बताए । गठबन्धनको शीर्ष नेतृत्वबाटै सरकार परिवर्तनको विषय टुंगिनेपर्ने र हल्लाबाट मात्र नहुने दाबी गरे ।