२०८१ बैशाख १४, शुक्रबार    

एमाले, राप्रपा र नेमकिपाले जम्कट्टेललाई विश्वासको मत नदिने

२०७९ चैत्र १०, शुक्रबार १६:०३ बजे

वाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई सदनमा प्रतिनिधित्व गर्ने तीनवटा दलले विश्वासको मत नदिने घोषणा गरेका छन् ।

शुक्रबारको प्रदेशसभा वैठकबाट उनले विश्वासको मत लिँदैछन् । प्रदेशसभाको वैठकलाई सम्बोधन गर्दै नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल मजदुर किसान पार्टीका संसदीय दलका नेताले जम्कट्टेल नेतृत्वको सरकारलाई विश्वासको मत नदिने घोषणा गरेका हुन् ।

एमाले दलका नेता जग्गनाथ थपलिया, राप्रपाका उद्धब थापा र नेमकिपाका सुरेन्द्रराज गोसाईंले मुख्यमन्त्री जम्कट्टेलले मागको विश्वासको मत दिन नसक्ने स्पष्ट पारेका हुन् । सदनमा एमालेका २७, राप्रपाका १३ र नेमकिपाका ३ मत रहेको छ । तीनवटा दलले मुख्यमन्त्रीलाई विश्वासको मत नदिएपनि सहजै बहुमत पुग्ने देखिएको छ ।

उनलाई कांग्रेसका ३७, माओवादी केन्द्रका २१, नेकपा (एस) ७ र हाम्रो नेपाली दलका २ सांसदले विश्वासको मत दिने भएका छन् । ११० सदस्यीय प्रदेशसभामा ५६ मत भएको खण्डमा बहुमत पुग्छ । केन्द्रीय सत्ता समीकरणमा भएको परिवर्तनसँगै राप्रपा प्रदेश सरकारबाट बाहिरिँदै सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्ने अवस्था सिर्जना भएको हो ।

राप्रपाले सरकारमा सहभागी आफ्ना तीन मन्त्रीलाई फागुन १३ गते फिर्ता बोलाएकाले चैत १२ गतेभित्र विश्वासको मत लिइसक्नुपर्ने सरकारसँग बाध्यता थियो ।