२०८१ बैशाख ८, शनिबार    

भ्युटावर बनाउन रुख काट्दा सातजना पक्राउ, त्रासमा गाउँले

२०७९ श्रावण ११, बुधबार ११:३३ बजे

हेटौंडा–१४, पदमपोखरीस्थित ड्राइभरडाँडामा भ्युटावर निर्माण गर्न सालको रुख काटेको आरोपमा स्थानीय ७ जनाविरुद्ध वनमुद्दा चलेको छ । जसमध्ये ५ जना पर्सा राष्ट्रिय निकुञ्जको हिरासतमा छन् । आधा दर्जन बढी निकुञ्जको अनुसन्धान घेराभित्र छन् ।

ड्राइभरडाँडामा बन्दै गरेको भ्युटावर नजिक रुख कटान गरेको आरोपमा थप कतिजना पक्राउ पर्ने हुन भन्ने त्रासले स्थानीय पीडित छन् । पर्सा राष्ट्रिय निकुञ्जले ३१ असारमा हरियाली मध्यवर्ती सामुदायिक वन समितिका पदाधिकारीसहित स्थानीय ७ जनालाई पक्राउ गरेको हो । पक्राउ परेकामध्ये २ जना घर फर्किएका छन् । उनीहरु ७० वर्षमाथि उमेरका ज्येष्ठ नागरिक भएकाले निकुञ्जले आवश्यक परेको अवस्थामा हाजिर गराउने जमानीमा छोडेको छ । बाँकी ५ जनालाई निकुञ्जले हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ ।

निकुञ्जका सहायक वार्डेन सूचना अधिकारी सन्तोष भगतले ड्राइभरडाँडास्थित निर्माणधीन भ्युटावर नजिक जग्गा अतिक्रमण गर्ने उद्देश्यले रुख काटिएको आशंकामा ७ जनाविरुद्ध वनमुद्दा चलाएको जानकारी दिए । उनका अनुसार आरोपितमाथि १५ दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको हो ।

हरियाली मध्यवर्ती सामुदायिक वन समिति पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्छ । वन क्षेत्रमै १४ नम्बर वडा कार्यालयले भ्युटावर निर्माण गरिरहेको हो । भ्युटावरमा आर्थिक वर्ष २०७६–०७७ मा ९ लाख ८९ हजार रुपैयाँ खर्च भएको छ । आव २०७७–०७८ मा पनि ९ लाख ८९ हजार नै खर्च भएको जनाइएको छ । भ्युटावर निर्माण भने भइसकेको छैन् ।

भ्युटावरको जग निर्माण गरेर भर्‍याङसहित पिल्लर ठड्याइएको छ । निकुञ्जका सहायक वार्डेन भगतका अनुसार रुख काट्नुको कारण खुलिसकेको छैन । ‘भ्यूटावर बनिरहेकाले जग्गा अतिक्रमण गर्ने उद्देश्य काटिएको आशंका छ । अनुसन्धानकै क्रममा भएकाले ठ्याक्कै कारण नखुलेको हो’, भगतले भने ।

चुरियामाई उपभोक्ता समिति अध्यक्ष मीनबहादुर घलानले स्थानीयले नियतबस रुख नकाटेको दाबी गरे । घलानलाई पनि निकुञ्जले दिनभर नियन्त्रणमा लिएर साँझ छोडेको थियो । उनको मोबाइल फोनसमेत निकुञ्जकै नियन्त्रणमा छ ।

सहायक वार्डेन भगतले साना–ठूला गरी करिब १ सय वटा रुख काटिएको जानकारी दिएका छन् । १४ नम्बरका वडा अध्यक्ष दीपक खड्काले भने टुक्रा र साना हाँगा काटेको दाबी गरेका छन् । उनले ठूला रुख नकाटेको तर, दाउराका लागि भने काटिएको बताए ।