२०८१ जेठ ३, बिहीबार    

वाग्मती प्रदेशको टोलटोलमा कोरोनाविरुद्धको खोप

२०७८ माघ ९, आईतबार १०:२१ बजे

मकवानपुर — वाग्मती प्रदेश सरकारले टोलटोलमा कोरोनाविरुद्धको खोप अभियान सञ्चालन गरेको छ । विशेष गरी प्रदेश सरकारले विकट, सीमान्तकृत, पिछडिएका तथा खोप लगाउने दर कम भएको क्षेत्रको समुदाय लक्षित गरेर यस्तो अभियान सञ्चालन गरेको हो । वाग्मती प्रदेशका स्वास्थ्यमन्त्री निमा लामाले जिल्ला स्वास्थ्य कार्यालय र सम्बन्धित स्थानीय तहसँग समन्वय गरेर लक्षित वर्गको पहिचान गरी प्रदेशभर नै खोप अभियान सञ्चालन भइरहेको बताए । 

‘प्रदेशको १३ वटै जिल्लाको सबै विकट स्थानको टोल टोलमै पुगेर हामीले खोप अभियान सञ्चालन गरिरहेका छौं । तथ्यांकगतरुपमा हेर्दा विकटमा धेरै मानिस खोप लगाउनै बाँकी देखिएपछि हामीले अभियान नै सञ्चालन गरेका हौं,’ मन्त्री लामाले भने । उनका अनुसार पछिल्ला केही दिनमा कोरोनाका बिरामी बढेसँगै खोप लगाउनेको संख्यामा पनि वृद्धि भइरहेको छ ।

मन्त्री लामा शनिबार कोरोनाविरुद्धको भ्याक्सिन लगाउन आग्रह गर्दै मकवानपुरको विकट राक्सिराङ गाउँपालिका पुगेका थिए । सोही क्रममा राक्सिराङ–५ स्थित ताङराङमा पुगेर कोरोनाविरुद्धको भ्याक्सिन लगाउन स्थानीयलाई मन्त्री लामाले आग्रह गरे । यस क्षेत्र चेपाङ समुदायको बाक्लो बस्ती रहेको क्षेत्र हो ।

देशव्यापी रुपमा कोरोनाविरुद्ध भ्याक्सिन लगाउने अभियान सञ्चालन भइरहेको अवस्थामा मकवानपुरको राक्सिराङ र कैलाश गाउँपालिकामा रहेका अतिसीमान्तकृत चेपाङ समुदाय लक्षित गरेर प्रदेश सरकारले विशेष खोप अभियान समेत सञ्चालन गरिरहेको छ । स्थानीयले पनि घर नजिकै खोप लगाएका कारण आफूहरू उपस्थित भएको बताएका थिए । 

नेपाल सरकारले चैतभित्रमा शतप्रतिशत नागरिकलाई कोरोनाविरुद्धको खोप लगाउने नीति अवलम्बन गरेको छ । ‘खोपको अभाव छैन । टोल, विद्यालय, खोप केन्द्र र अस्थायी खोप केन्द्र निर्माण गरेर समुदायमा लक्षित गरी मन्त्रालयले काम गरिरहेको,’ स्वास्थ्य मन्त्रालयका प्रवक्ता वसन्त अधिकारीका अनुसार वाग्मती १८ वर्षमाथिका करिब ७८ प्रतिशतले पहिलो डोज लगाइसकेका छन् । १२ वर्षदेखि १७ वर्षसम्मका २९ प्रतिशत बालबालिकाले कोरोनाविरुद्धको खोप लगाइसकेका छन् ।

मन्त्रालयको तथ्यांकअनुसार सिन्धुली र नुवाकोटमा खोप लगाउनको संख्या ६० प्रतिशतभन्दा कम । ‘अबको तीन दिनभित्रमा सबै जिलामा खोप लगाउनेको संख्या ८० प्रतिशतभन्दा माथि हुनेछ,’ अधिकारीले भने । बाँकी जिल्लामा करिब ८० प्रतिशत मानिसले भ्याक्सिन लगाएका छन् ।

‘बालबालिका लक्षित गरेर मात्र होइन । फ्रन्टरलाइनरलाई बुस्टर डोज लगाउने काममा पनि हामी केन्द्रित छौं,’ अधिकारीले भने,‘हामीले स्थानीय तहसँग समन्वय गरेर खोप अभियान सञ्चालन गरेका छौं । जसले गर्दा धेरै नागरिकले खोप लगाइरहेका छन् ।’

खोप लगाउने दर कम रहेको क्षेत्रको पहिचान गरी स्थानीय राजनीतिक दल, धार्मिक अगुवा, टोल विकास संस्थालगायतको समन्वयमा समुदायमा खोप लगाउने दर बढाउन प्रदेश सरकारको निर्देशनअनुसार जिल्लाभर अभियान सञ्चालन गरिएको जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख भीमसागर गुरागाईंले बताए ।