२०८१ बैशाख १७, सोमबार    

विकास र समृद्धिको अभियानमा अघि बढ्न संविधानले सबैलाई प्रेरित गरोस् :  प्रदेश प्रमुख

२०८० आश्विन ३, बुधबार ०९:३१ बजे

बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले संविधानले परिकल्पना गरेको विकास र समृद्धिको शिखरमा पुग्ने अभियानमा निरन्तर अघि बढ्न संविधान दिवसले सबैलाई प्रेरित गरोस् भन्ने कामना गर्नुभएको छ ।

बुधबार मनाइदै गरिएको ‘संविधान दिवस २०८०’ का सन्दर्भमा शुभकामना सन्देश जारी गर्नुहुँदै प्रदेश प्रमुख शर्माले हामीले प्राप्त गरेको संविधानले केन्द्रीकृत र एकात्मक राज्य व्यवस्थाद्वारा सिर्जित सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गर्दै जातीय, भाषिक, धार्मिक, सांस्कृतिक तथा भौगोलिक विविधतायुक्त नेपाली समाजलाई बृहत् राष्ट्रिय एकताको सुत्रमा बाँध्ने काम गरेको बताउनुभएको छ ।

प्रमुख शर्माले नेपाली जनताको लामो सङ्घर्ष, त्याग र बलिदानपछि जननिर्वाचित प्रतिनिधीहरुले संविधान निर्माण गरी जारी गरेको ऐतिहासिक आश्विन ३ गते रहेकाले यो दिनलाई भरपुर उत्साह र उमङ्गका साथ ‘संविधान दिवस’ का रुपमा मनाईरहेका उल्लेख गर्नुभएको छ । प्रमुख शर्माले संविधान दिवस सम्पूर्ण नेपालीहरुले राष्ट्रिय पर्वका रुपमा मनाउने गरिएको बताउनुभएको छ ।

शुभकामनामा प्रमुख शर्माले विभिन्न आन्दोलनहरुमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्नुहुने वीर सहिदहरुप्रति गहिरो सम्मान प्रकट गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुभएको छ ।

जनताको प्रतिस्पर्धात्मक बहुदलीय लोकतान्त्रिक शासन प्रणाली, नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानव अधिकार, बालिग मताधिकार,आवधिक निर्वाचन, पूर्ण प्रेस स्वतन्त्रता तथा स्वतन्त्र निष्पक्ष र सक्षम न्यायपालिका र कानुनी राज्यको अवधारणा लगायत लोकतान्त्रिक मूल्य र मान्यतामा आधारित समाजवादप्रति प्रतिबद्ध रही समृद्ध राष्ट्र निर्माण गर्ने संकल्पसहित संविधान जारी भएको प्रमुख शर्माको भनाई छ ।

जनजीविकाको लागि अपरिहार्य शिक्षा, स्वास्थ्य र रोजगारीको हकसहित ३१ वटा मौलिक हकको व्यवस्था गरी नागरिकहरुलाई यो संविधानले अधिकार सम्पन्न बनाएको उहाँले बताउनुभयो । साथै, लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्धारा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्ने मार्गरेखा समेत यही संविधानमार्फत कोरिएको पनि प्रमुख शर्माको शुभकामना सन्देशमा उल्लेख छ ।