२०८१ बैशाख १२, बुधबार    

हेटौंडामा भयो चुनावी प्रतिबद्धा पूरा, अब खानेपानी नि:शुल्क

२०७९ श्रावण १२, बिहीबार १८:०९ बजे

हेटौंडा उपमहानगरपालिकाले मासिक दशहजार लिटरसम्म खानेपानी नि:शुल्क उपलब्ध गराउने भएको छ ।

सत्तारुढ गठबन्धनले चुनावको समयमा न्यूनतम शुल्क बराबरको खानेपानी र विद्युत् नि:शुल्क उपलब्ध गराउने घोषणा गरेका थियो । गठबन्धनबाट निर्वाचित भएको तीन महिनामै विहीबार उपमहानगरमा मेयर मीनाकुमारी लामा, उपमेयर राजेश बानियाँले आफ्नो चुनावी घोषणा पत्र अनुसार गरिएको प्रतिबद्धा पूरा गरेका हुन् ।

मेयर, उपमेयर र १९ वटै वडाका अध्यक्षसहित खानेपानी व्यवस्थापन बोर्ड पदाधिकारीको वैठकले खानेपानी नि:शुल्क उपलब्ध गराउने निर्णय गरेको हो । वैठकले मासिक न्यूनतम शुल्क ८५ रुपैयाँ बराबरको दशहजार लिटरसम्म खानेपानी नि:शुलक उपलब्ध गराउने निर्णय गरेको उपमेयर राजेश बानियाँले जानकारी दिए ।

यस निर्णय खानेपानी व्यवस्थापन बोर्डअन्तर्गत् जडान भएको धाराहरुमा मात्र लागू हुनेछ । मेयर लामाका अनुसार यस निर्णय अनुसार २३ हजार ५ सय धाराको हकमा लागू हुनेछ । यस सुविधाबाट १ लाख ४५ हजार जनसंख्या लाभान्वित हुने दावी गरिएको छ । नि:शुल्क खानेपानी उपलब्ध गराएबापत् उपमहानगरले खानेपानी बोर्डलाई वार्षिक २ करोड ३९ लाख ७० हजार रुपैयाँ उपलब्ध गराउनेछ । ‘उपभोक्ता समितिमार्फत् खानेपानी प्रयोग गरिएको हकमा हामी विशेष निर्णयपछि गर्नेछौं ।’, मेयर लामाले भनिन् ।

मेयर लामाले पदास्थापनाको समयमा उपमहानगरभित्र रहेका १५ सय ११ अतिविपन्न परिवारलाई नि:शुल्क खानेपानी, विद्युत र स्वास्थ्य वीमा गर्ने निर्णय गरेकी थिइन् । उपमहानगरको वार्षिक नीति तथा कार्यक्रममा यस विषय समेटिएको थियो ।