२०८१ जेठ ४, शुक्रबार    

फुटसल कोर्टमा रमाए मकवानपुरका महिला पत्रकार

२०७८ फाल्गुन २४, मंगलबार १२:०७ बजे

हेटौंडा/ सधैं समाचार लेख्न र पढ्न रमाउने मकवानपुरका महिला पत्रकारहरु मंगलबार फुटसल कोर्टमा व्यस्त भए ।

नारी दिवसको सन्दर्भ पारेर सञ्चारिका समूह नेपाल मकवानपुर शाखाले महिला पत्रकारवीच मैत्रीपूर्ण फुटसल आयोजना गरिएको हो । जिल्लामा रहेका सक्रिय महिला पत्रकारलाई दुई समूहमा विभाजन गरेर हेटौंडा–४ स्थित कमलडाँडामा रहेको फुटसल कोर्टमा रमाउँदै उनीहरुले नारी दिवस मनाएका हुन ।

सञ्चारिका समूह मकवानपुरले नारी दिवसकै सन्दर्भ पारेर महिला पत्रकारहरुलाई सेनेटरी प्याड पनि वितरण अभियान पनि सुरु गरेको सञ्चारिका समूह मकवानपुर अध्यक्ष सम्झना रिजालले जानकारी दिइन् । उनका अनुसार यो कार्यक्रम हरेक महिना गरिनेछ । औपचारिक कार्यक्रमको आयोजना गरी प्याड वितरण अभियान सुरु गरिएको हो ।

कार्यक्रममा प्रमुख अतिथि हेटौंडा उपमहानगरपालिकाकी उपमेयर मीनाकुमारी लामाले महिलाहरुको नेतृत्व र शसक्तिकरणका लागि राजनीतिक दलहरुले नै अग्रसरता देखाउनु पर्ने बताइन् । उनले दलहरुले अहिले महिला नेतृत्वलाई अघि आउने अवसर नै नदिएको भन्दै संविधानमा नै व्यवस्था भएको ३३ प्रतिशत महिला सहभागिता नै सुनिश्चित नभएको बताइन् ।