२०८१ बैशाख ८, शनिबार    

पोल हटाउन नसकेपछि तार भूमिगत गर्दै हटौंडा उपमहानगरपालिका

२०७९ चैत्र २, बिहीबार १५:३७ बजे

हेटौंडा उपमहानगरपालिकाको १९ वटा वडाको मुख्य सडक र अधिकांश शाखा सडकको बिच भागमा रहेका विद्युतीय पोल हटाउन सकेको छैन । प्रचलनमा रहेको सडकलाई नै कायम गर्दा केही विद्युतीय पोल व्यक्तिका घर तथा जग्गामा परेका छन् भने केही सडकको नक्सांकन परिवर्तन हुँदा विद्युतीय पोल बिच भागमै परेका छन् ।

सडक क्षेत्रमा विद्युतीय पोल कायम रहँदा सडक असुरक्षित हुनुको साथै सवारी दुर्घटनाको जोखिम बढ्दो छ । हेटौंडा बजारको व्यस्त सडकमै विद्युतीय पोल रहे पनि उपमहानगरपालिकाले त्यसको समाधानमा ठोस पहल गर्न सकेको छैन भने विद्युत प्राधिकरण र उपमहानगरपालिकाको आन्तरिक द्वन्द्वले समस्या समाधान हुन सकेको छैन ।

हेटौंडा उपमहानगरपालिका र विद्युत प्राधिकरणबिच सडक क्षेत्रबाट विद्युतीय पोल सार्ने बारेमा विवाद हुँदा आम नागरिक जोखिम व्यहोर्न बाध्य भएका हुन् । उपमहानगरपालिका र प्राधिकरणबिच विद्युतीय पोल सार्ने खर्च कसले व्यहोर्ने भन्ने विषयमा द्वन्द्व कायम छ ।

यसबिचमै हेटौंडा उपमहानगरपालिकाले विद्युतका तारलाई भूमिगत गर्ने योजना बनाइरहेको छ । उपहमानगरपालिकाले हेटौंडाका मुख्य बजार क्षेत्रको बाहिर देखिएका अस्तव्यत तारलाई भूमिगत गर्ने योजना बनाएको हो ।

गत मंगलबार बसेको कार्यापालिकाको बैठकले अस्तव्यस्त विद्युत तारका कारण बजार क्षेत्र कुरुप भएको भन्दै मुख्य बजार क्षेत्रका तारहरुलाई भूमिगत गर्ने गरी प्राधिकरणलाई आग्रह गर्ने निर्णय गरेको छ । कार्यपालिका बैठकले हेटौंडा बजार क्षेत्रको वडाहरु १, २, ४, १० र ५ को केही भागका पोलमा रहेको तारलाई भूमिगत गर्न विद्युत प्राधिकरणलाई पत्र पठाउने निर्णय गरेको हो ।

हेटौंडा उपमहानगरपालिका क्षेत्रको १९ वटा वडामा १ हजार ११९ वटा विद्युतका पोल सडक क्षेत्रमा छन् । हेटौंडा उपमहानगरपालिकाका अनुसार हेटौंडा–१ मा सिमेन्टका पोल १४ वटा, स्टिलका ८ वटा र काठका १० वटा पोल गरी कुल ३२ वटा पोल सडक क्षेत्रमा छन् । यस्तै हेटौंडा–२ मा सिमेन्टका ८२, स्टिलका ९४ र काठका ४ गरी कुल १८० वटा पोल सडक क्षेत्रमा छन् ।

हेटौंडा–३ मा सिमेन्टका १२ वटा पोल सडक क्षेत्रमा परेका छन् भने हेटौंडा–४ मा सिमेन्टका १४४, स्टिलका ३ र काठका ६ वटा गरी जम्मा १५३ वटा, हेटौंडा–५ मा सिमेन्टका १८३, स्टिलका १६ र काठका २ गरी जम्मा २०२ वटा, हेटौंडा–६ मा सिमेन्टका ४३ र स्टिलको एउटा, हेटौंडा–७ मा सिमेन्टका ७४ र काठका ५ गरी जम्मा ७९ वटा पोल सडकमा छन् । यस्तै हेटौंडा–८ मा सिमेन्टका ९३, स्टिलका ६ र काठका ४ गरी १०३ वटा, हेटौंडा–९ मा सिमेन्टका १० वटा पोल सडक क्षेत्रमा परेका छन् ।

हेटौंडा–१० मा सिमेन्टका १५, स्टिलका २ र काठका १ गरी जम्मा १८ वटा, हेटौंडा–११ मा सिमेन्टका ३०, स्टिलका ४५ र काठमा २ गरी जम्मा ७७ वटा, हेटौंडा–१२ मा सिमेन्टका २८ वटा, हेटौंडा–१३ मा सिमेन्टका ७१ वटा, हेटौंडा–१४ मा सिमेन्टका २३ वटा, हेटौंडा–१५ मा सिमेन्टका ४६ र स्टिलका एक गरी ४७ वटा, हेटौंडा–१६ मा सिमेन्टका ५४ वटा, हेटौंडा–१७ मा सिमेन्टका ३८, स्टिलका २ र काठका एक गरी ४१ वटा, हेटौंडा–१८ मा सिमेन्टका २६ र काठका ४ गरी ३० वटा र हेटौंडा–१९ मा सिमेन्टका १३, स्टिलका २ र एउटा काठको गरी १६ वटा विद्युतका पोल सडक क्षेत्रमा छन् ।

हेटौंडा उपमहानगरपालिकाले उक्त पोल हटाउन अनुगमन समेत गरेर प्राधिकरण समक्ष पत्र पठाएको थियो । उपमहानगरपालिकाले गत भदौमा सडक क्षेत्रका पोल हटाउन प्राधिकरणमा पत्र पठाए पनि काम भने हुन सकेको छैन । हेटौंडा उपमहानगरपालिकाका सूचना अधिकारी भानु थपलियाका अनुसार उपमहानगरपालिकाले पठाएको उक्त पत्रमा उल्लेख भएको तथ्याङ्कका आधारमा आफूहरु काम गर्न नसक्ने र प्राधिकरणका कर्मचारीबाटै स्थलगत अनुगमन र अध्ययन गर्नुपर्ने भन्दै पोल हटाउन नसक्ने जवाफ प्राधिकरणले दिएको थियो ।

प्राधिकरणको उक्त जवाफपछि उपमहानगरपालिकाले आफ्ना कर्मचारीसहित प्राधिकरणका कर्मचारीलाई १९ वटै वडाको अनुगमन र अध्ययनका लागि समन्वय गरेको थियो । करिव २ महिनासम्म लगाएर सो काम सम्पन्न गरेर प्राधिकरणले प्रतिवेदन नै तयार पारेको उनले बताए ।

सो प्रतिवेदनका आधारमा प्राधिकरणले छिट्टै नै सडक क्षेत्रका पोलहरु सार्ने काम अघि बढाउनु पर्ने र सो कार्यका लागि उपमहानगरपालिकाले ७५ लाख रुपैयाँ बजेट पनि विनियोजन गरेएको उनले बताए ।