२०८१ बैशाख ७, शुक्रबार    

७३ दिनपछि अमृताको दाहसंस्कार

२०७९ असार १०, शुक्रबार ११:२१ बजे

रुपन्देहीको तिलोत्तमा २, जानकीनगरकी अमृता खत्री टण्डनको शव दाहसंस्कार गरिएको छ । उनको शव अस्पतालमा राखेको ७३ दिनपछि शुक्रबार बिहान तिलोत्तमाको मगरघाटमा अन्तिम संस्कार गरिएको दाजु पुष्पक खत्रीले बताए ।

उनका अनुसार रिपोर्टमा विष सेवनले भित्री अंगमा असर गरेर मृत्यु भएको देखिएको छ । अमृताका माइती पक्षले उनको हत्या गरिएको भनी दिएको जाहेरीका आधारमा श्रीमानलाई पुर्पक्षका लागि थुनामा राखिएको छ भने सासु र ससुरा २/२ लाख धरौटीमा छुटेका थिए ।

 पुष्पकले भान्जाको लालनपालन तथा शिक्षाको सबै खर्च बेहोर्ने र बहिनीको नाममा १ लाख रुपैयाँको अक्षयकोष खडा गर्ने सहमतिपश्चात दाहसंस्कार बताए । '२ महिना १० दिन अस्पतालमा शव राखियो', उनले भने, 'रिपोर्ट पर्खिँदा समय लाग्यो, बहिनीको हत्या भएको पुष्टि भएन ।'

बहिनीले आत्महत्या गरेको हुनै नसक्ने भन्दै उनले विष सेवन गरेको वा गराइएको भन्ने विषय पुष्टि हुन नसकेपछि न्याय नपाइने ठानेर शव जलाउने सहमति गरिएको जनाए ।