२०८१ बैशाख २१, शुक्रबार    

कांग्रेस अधिवेशन : तीन उम्मेदवारको दुई दाउ

२०७८ फाल्गुन १५, आईतबार १६:३६ बजे

हेटौंडा/ दलबल र र्‍यालीसहित नेपाली कांग्रेस मकवानपुरको सभापति पदमा तीनजना उम्मेदवारले आफ्नो प्यानलैसहित उम्मेदवारी दर्ता गराएका छन् । सभापतिमा आनन्दराम पराजुली, बुद्ध लामा र जयराम लामिछानेले प्यानलसहित तोकिएको समयमा उम्मेदवारीको मनोनयन दर्ता गरेका थिए ।

उम्मेदवारी दर्ता गराएकामध्ये लामा र पराजुली संस्थापन अर्थात शेरबहादुर देउवा समूहका हुन् । लामिछाने भने संस्थापन इतर समूहबाट सभापतिका एकल उम्मेदवार हुन् । उम्मेदवारी दर्ता गराएसँगै कसले बाजी मार्छ भनेर अड्कलबाजी सुरु भएको छ । अहिले उम्मेदवार रहेको तीनैजनाको दुईवटा मात्र दाउ रहेको छ ।

पहिलो दाउ:
कांग्रेस विधान अनुसार खसेको मतको ५१ प्रतिशत ल्याएपछि मात्र सभापतिमा निर्वाचित हुने व्यवस्था रहेको छ । यदी कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत ल्याउन नसकेको खण्डमा पुन: पहिलो र दोस्रो हुनेवीच निर्वाचन हुने व्यवस्था रहेको छ । जसको कारणले गर्दा सवै उम्मेदवार पहिलो चरणमै ५१ प्रतिशत मत हासिल गरेर विजयी हुने दाउमा रहेका छन् ।

दोस्रो दाउ:
पहिलो चरणमा ५१ प्रतिशत मत ल्याएर विजयी हुन नसकेको खण्डमा कम्तिमा दोस्रो स्थानमा पुगेर पुन: दोस्रो चरणको मतदानमा सहभागी हुने दाउ पनि उम्मेदवा रहेको छ । दोस्रो चरणमा पुग्न सकेको खण्डमा तेस्रो हुने उम्मेदवारलाई आफ्नो पक्षमा पार्न सके पार्टीको सभापति पदमा पुग्न सकिन्छ भन्ने तयारीमा सभापतिका प्रत्याशीहरु देखिन्छन् ।