२०८१ बैशाख १५, शनिबार    

मनहरी–९ नम्बर वडाको नवनिर्मित भवन उद्घाटन

२०८० कार्तिक २४, शुक्रबार १५:२४ बजे

मनहरी गाउँपालिका–९ नम्बर वडाको नवनिर्मित कार्यालय भवन विहीबार उद्घाटन गरिएको छ ।

नेपाली कांग्रेस वाग्मती प्रदेश सभापति एवम् प्रदेशसभा सदस्य इन्द्रबहादुर बानियाँले नवनिर्मित कार्यालय भवनको उद्घाटन गरेका हुन् । रत्नकुमारी एण्ड सन्स हेटौंडा मकवानपुरले २०७६/१०/०१ गतेबाट निर्माण सुरु गरेको भवन ७९ लाख ११ हजार ८६६ रुपैयाँ ६८ पैसामा निर्माण भएको हो । साढे २ तल्ले भवनमा ६ वटा अफिस कोठा, हल, गेष्ट रुम र भान्सा रहेको छ ।

स्थानीय दुवमाया कालाखेतीले आफ्नो स्वर्गीय पतीको स्मृतिमा उपलब्ध गराएको १ कठ्ठा १२ धुर जग्गामा उक्त भवन निर्माण भएको हो । भवनको उद्घाटन गर्दै नेता बानियाँले सेवामुखी भएर काम गर्न जनप्रतिनिधिलाई सुझाएका थिए । उनले वर्तमान व्यवस्था कमजोर बनाउने तत्व सक्रिय भइरहेको बताउँदै जनताको अवस्था परिवर्तन हुन नदिनेहरु चिन्न जरुरी रहेको बताए ।

भवन उद्घाटन समारोहमा मनहरी गाउँपालिका अध्यक्ष रञ्जन कालाखेतीले गाउँपालिकाको अब एउटा मात्र वडाको आफ्नै भवन नरहेको र निर्माणको अन्तिम चरणमा रहेको बताए । स्थानीय तहले गरेको काम जनताले महसुस गर्ने र जनमैत्री हुन जरुरी उनको ठहर थियो ।

उद्घाटन कार्यक्रममा वडा सदस्य गुप्तबहादुर थापा, निवर्तमान वडा अध्यक्ष साधुराम अधिकारी, मनहरी–८ का वडाअध्यक्ष नारायण उप्रेतीलगायतले मन्तव्य व्यक्त गरेका थिए ।

मनहरी–९ नम्बरका वडाअध्यक्ष राजकुमार श्रेष्ठको सभाध्यक्षतामा कार्यक्रम भएको हो । उनले नयाँ भवनबाट गुणस्तरीय सेवा प्रदान गर्न सहज हुने बताए ।