२०८१ बैशाख ५, बुधबार    

भीमफेदीमा १२ करोड लगानीमा अस्पताल बन्दै

२०७८ चैत्र १०, बिहीबार १४:०४ बजे

मकवानपुरको भीमफेदी गाउँपालिकामा १५ सैय्याको पृथ्वीचन्द अस्पताल भवनको शिलान्यास गरिएको छ ।

भीमफेदी–५ र ६ वडाका १५ जना ज्येष्ठ नागरिकले संयुक्तरुपमा अस्पताल भवनको शिलान्यास गरेका हुन् । मिनि ट्रमा सेन्टरको विकास गर्ने उद्देश्यसहित करिब १२ करोडको लागतमा अस्पताल भवन निर्माण हुन लागेको हो । टेन्डर प्रक्रियाबाट अस्पताल भवन निर्माण गरिन लागेको भीमफेदी गाउँपालिकाकी उपाध्यक्ष पर्वती रानाले जानकारी दिइन् । अस्पताल सञ्चालनमा आएपछि भीमफेदी र इन्द्रसरोबारका नागरिकलाई सहज हुने बताइएको छ ।

कार्यक्रम भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामाको सभाध्यक्ष तथा जिल्ला समन्वय समिति मकवानपुरकी उपप्रमुख भागवती पुडासैनीको विशेष अतिथ्य रहेको थियो । अध्यक्ष लामाले सवारी दुर्घटना धेरै हुने भएका कारण त्यसक्षेत्रमा अस्पतालको आवश्यकता रहेको थियो । संघीय सरकार र भीमफेदी गाउँपालिकाको लगानीमा अस्पताल स्थापना हुन लागेको हो ।

स्वास्थ्य मन्त्रालयले तोकेको मापदण्डअनुसार नै सेवा, सुविधा सम्पन्न भवन निर्माण हुने बताइएको छ । अस्पताल भवनमा ३ वटा ब्लक रहनेछ । लिफ्ट सिस्टमसहित भूकम्प प्रतिरोधि, बालमैत्री, अपाङ्गमैत्री भवनमा प्रयोगशाला, एक्सरे, शल्यक्रिया र इमर्जेन्सी सेवा उपलब्ध रहने बताइएको छ ।