हेटौंडा/ स्थानीयले आन्दोलन गरेपछि अवरुद्ध पूर्वपश्चिम राजमार्ग सञ्चालनमा आएको छ ।
हेटौंडा–९, पशुपतिनगरमा बसको ठक्करबाट हिजो सोमबार हेटौडा चाइनाक्वाटर बस्ने ४० वर्षीय अर्जुनप्रसाद घिमिरेको मृत्यु भएको विषयलाई लिएर स्थानीयले सडक अवरुद्ध गरेका थिए । प्रहरीले बल प्रयोग गरेर सडक सञ्चालनमा ल्याएको हो । पूर्वपश्चिम राजमार्गअन्तर्गत् हेटौंडा स्थित जिल्ला प्रहरी कार्यालय मकवानपुर अगाडी केही समय स्थानीय र मृतकका आफन्तले राजमार्ग अवरुद्ध पारेका थिए । प्रहरीले तीन राउण्ड हवाइ फायर तथा बल प्रयोग गरेर राजमार्ग खुलाएको हो । प्रहरीले राजमार्ग अवरोध गर्ने तीनजनालाई समेत नियन्त्रणमा लिएको छ ।
घिमिरेको मृत्यु भैसकेपछि ठक्कर दिने बस सञ्चालक तथा यातायात समितिका व्यक्ति सम्पर्कमा नआएको, दोषीलाई कारवाही नभएको र उचित क्षतिपूर्ती नदिएको भन्दै हेटौंडा–१ चाइनाक्वाटरका स्थानीयले राजमार्ग अवरुद्ध गरेका थिए । सोमबार दिउँसो वीरगञ्जबाट हेटौंडातर्फ आउँदै गरेको ग.१ ख ६१७० नम्बरको बसले घिमिरेले चलाएको मोटरसाइकललाई ठक्कर दिएको थियो । उनको हिजै उपचारको क्रममा मृत्यु भएको थियो ।