२०८१ बैशाख ६, बिहीबार    

हर्नामाडीमा नयाँ भवनबाट बर्थिङ सेन्टर सञ्चालन

२०७९ पौष ९, शनिबार १८:०३ बजे

हेटौंडा–१८, हर्नामाडीमा नयाँ भवनबाट बर्थिङ सेन्टर सञ्चालनमा आएको छ ।

गोर्खा लाहारी प्रालिको आर्थिक सहयोगमा निर्माण गरिएको चारकोठे भवनको शनिबार हेटौंडा उपमहानगरपालिकाकी मेयर मीनाकुमारी लामाले उद्घाटन गरेसँगै बर्थिङ सेन्टरको सम्पूर्ण सेवा उक्त स्थानबाट सुरु भएको हो ।

गोर्खा लाहारीले आफ्नो कम्पनीको सामाजिक उतरदायित्वअन्तर्गत् रहेर ३० लाख रुपैयाँ भवन निर्माणका लागि सहयोग गरेको थियो । यसअघि पुरानो भवनबाट यस सेवा प्रवाह गरिँदै आएको थियो ।

गढी र वकैया गाउँपालिका तथा हेटौंडा–१९ का महिलालाई सहजरुपमा सुत्केरी सेवा प्रदान गर्न बर्थिङ सेन्टरले सहयोग पुर्‍याउँदै आइरहेको छ । उपमहानगरपालिकाकी मेयर लामाले हेटौंडा–१३ र १६ मा अस्पताल सञ्चालनको तयारी भइरहेको बताइन् । ‘हामीले सञ्चालन गर्ने पाँच बेडको अस्पतालमा डाक्टरसहितको सेवा उपलब्ध गराउने छौं ।’, उनले सामान्य उपचार गाउँमै पाउने व्यवस्था गर्ने गरी उपमहानगरपालिकाले काम गरिरहेको बताइन् ।

‘केही समयभित्र सामान्य उपचार गाउँमै सहजरुपमा गर्ने वातावरण हामी तयार गर्नेछौं ।’, उनले उपमहानगरले शिक्षा र स्वास्थ्यलाई पहिलो नम्बरमा राखेर काम गरिरहेको बताइन् ।

भवन उद्घाटन कार्यक्रममा कम्पनीका सञ्चालक बज्रसिंह तवरलाई धन्यवादसहित मेयर लामाले मायाको चिनो प्रदान गर्दै आगामी दिनमा सहकार्यका लागि प्रस्ताव समेत गरेकी थिइन् ।

वडा अध्यक्ष अनिलकुमार बानियाँको अध्यक्षतामा भएको कार्यक्रममा उद्योग संघ मकवानपुर अध्यक्ष स्वागतराज प्याकुरेल तथा उद्योगका प्रतिनिधि प्रभाकर भण्डारीलगायतले आफ्नो धारणा राखेका थिए ।

भवनका लागि रंग उपलब्ध गराएबापत् एसिएन पेन्टस्का प्रतिनिधि विक्रम सिग्देललाई सम्मानित गरिएको थियो ।