२०८१ बैशाख २२, शनिबार    

१६ महिनामा अस्पताल बनाउने जग्गा पनि भेटाएन इन्द्रसरोवरले

२०७८ फाल्गुन २३, सोमबार ११:५८ बजे

गत वर्ष १५ मंसिरमा देशभरका ३ सय ९६ स्थानीय तहमा एकै दिन शिलान्यास गरिएको अस्पताल निर्माण प्रक्रियाअन्तर्गत १६ महिना बितिसक्दा हालसम्म मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाले जग्गासमेत प्राप्ती गर्न सकेको छैन ।

जग्गा प्राप्ती गर्न नसक्दा अरु स्थानीय तहले निर्माणलाई तीब्रता दिइरहँदा इन्द्रसरोवरमा अस्पतालको शिलान्यासनै भएको छैन । इन्द्रसरोवरले हालसम्म अस्पतालका लागि उपयुक्त जग्गा नपाएको भन्दै ठेक्का प्रक्रिया पनि सुरु गरेको छैन । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बलराम लम्सालले उपयुक्त स्थानमा जग्गा नपाउँदा निर्माण प्रक्रिया ओझेलमा परेको बताए ।

उनका अनुसार इन्द्रसरोवर–२ कुलेखानी ड्याम नजिक खानी खोला नेपाल विद्युत प्राधिकरणको ७ रोपनी जग्गा उपयुक्त देखिएपछि गाउँपालिकाको स्वामित्वमा ल्याउने प्रक्रिया सुरु गरिएको छ । विद्युत प्राधिकरणमा जग्गा प्राप्तीका लागि सबै कागजात पुर्‍याइएपनि प्राधिकरणले निर्णय गर्न ढिलाइ गर्दा समस्या भएको लम्सालको भनाइ छ । प्राधिकरणको जग्गाबाहेक अन्यत्र पायक नपर्ने र अनुपयुक्त भएकोले अन्यत्र खोजी नगरिएको उनले बताए । इन्द्रसरोवरमा ८० लाख लागतमा ५ शैय्याको अस्पताल निर्माण हुनेछ ।