२०८० चैत्र १५, बिहीबार    

मकवानपुरमा एमाले पहिलो, कांग्रेस दोस्रो दल

२०७९ मंसिर ११, आईतबार १७:०२ बजे

नेकपा एमाले समानुपातिक मत गणनातर्फ मकवानपुरमा पहिलो भएको छ ।

जिल्ला निर्वाचन अधिकृतका कार्यालयका अनुसार एमालेले क्षेत्र नम्बर १ बाट २२ हजार ६११ र २ बाट २८ हजार १९६ गरी कुल ५०,८०७ मत प्राप्त गरेको छ । नेपाली कांग्रेस ३६ हजार २६४ मतसहित दोस्रो दल बनेको छ । चार महिना अगाडिमात्रै गठन भएको रवि लामिछाने नेतृत्व राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) २९ हजार ८८९ मत सहित तेस्रो भएको छ । नेकपा माओवादी केन्द्रले २६ हजार १३३ मतसहित चौथो बन्दा राष्ट्रिय प्रजातन्त्र पार्टी १६ हजार ७७१ मतसहित पाँचौं स्थानमा रहेको छ । खसेको मतमध्ये १ लाख ७० हजार १६६ सदर हुँदा ७ हजार ६९९ मत बदर भएको कार्यालयले जनाएको छ । प्रत्यक्षतर्फ दुई प्रतिनिधिसभा रहेको जिल्लामा एमाले र राप्रपाले एक/एक स्थानमा जितेका छन् । प्रदेशसभामा माओवादी केन्द्रले दुई स्थानमा बाजी मार्दा एमाले र कांग्रेस एक–एक स्थानमा विजयी भएका छन् ।

कमल थापा नेतृत्वको राप्रपा नेपालले समानुपातिकमा ५३६ मत प्राप्त गरेको छ । थापाको पार्टीले गृहजिल्लामा प्रतिनिधिसभातर्फको समानुपातिकमा ५३६ मत पाएको हो । राप्रपा नेपालले तिर चिन्हमा क्षेत्र नम्बर–१ मा ४५५ र क्षेत्र नम्बर–२ मा ८१ मत पाएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । नेकपा एमालेको सूर्य चिन्हबाट मकवानपुर–१ बाट प्रतिनिधिसभाको उम्मेदवार बनेका थापा तेस्रो बन्दै पराजित भएका थिए । थापा राप्रपाका आफ्नै पूर्व सहकर्मी दीपक सिंहसँग पराजित भएका हुन् ।

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) पार्टीले प्रतिनिधिसभातर्फको समानुपातिकमा ३ हजार ८२७ मत मात्र प्राप्त गरेको छ । समानुपातिकतर्फको जिल्लाभरको मतगणनामा नेकपा समाजवादीको कलम चुनाव चिन्हमा दुईवटै प्रतिनिधिसभाको निर्वाचन क्षेत्रमा उक्त मत प्राप्त गरेको हो । नेकपा समाजवादीले मकवानपुर प्रतिनिधिसभा तर्फको क्षेत्र नम्बर–१ का समानुपातिकको मतगणनामा १ हजार २४७ मत प्राप्त गर्दा क्षेत्र नम्बर–२ मा भने २ हजार ५८० मत प्राप्त गरेको छ ।