२०८० चैत्र १६, शुक्रबार    

प्रदेशमा सयौं योजना अलपत्र, समयमै सक्न छैन ताकेता

२०७९ असार २८, मंगलबार १५:४२ बजे

बागमती प्रदेश भित्रका सयौं योजना अलपत्र परेका छन् । साना ठूला गरी बागमती भित्रका सयौं योजना अलपत्र परेका हुन् ।

निर्माण सामाग्री र पेट्रोलियम पदार्थको मूल्य बृद्धिका कारण तत्काल तीब्र गतिमा काम अघि बढाउन नसक्ने भन्दै निर्माण व्यवसायीले विकास निमार्णका योजनाहरु अलपत्र पारेको भौतिक पूर्वाधार विकास मन्त्रालयको दाबी छ । प्रदेश सरकारले बहुवर्षीय र साना योजनामा समावेश गरेर अघि बढाएको विकास निर्माण ठेकेदारबाट अलपत्र पारिएको हो ।

बजारमा निर्माण सामाग्रीको मूल्य बृद्धि र पेट्रोलियम पर्दाथमा पनि महँगी बढ्दा काम अघि बढाउन समस्या भएको भन्दै निर्माण कम्पनीले योजनाहरु अलपत्र पारेको भौतिक पूर्वाधार विकास मन्त्रालयका प्रवक्ता नवीन सिंहले बताए । ‘ठेक्का लिएका निर्माण कम्पनीले महँगीका कारण काम अघि बढाउन समस्या भएको गुनासो गरिरहेका छन् ।’ प्रवक्ता सिंहले भने, ‘निर्माण कम्पनीहरुले मूल्यवृद्धि समायोजन नगरेको भन्दै काम रोकिरहेका छन् ।’

उनका अनुसार योजना ठेक्का लिएर कतिपय सुरुनै गरिएको छैन भने, साना ठूला सयौं योजना अलपत्र छाडिएको छ । उनले चैतको अन्तिमबाट योजनाहरु अलपत्र छाडिएको बताए । तीन महिना अघिदेखि योजना अलपत्र छाडेका निर्माण कम्पनीलाई मन्त्रालयले कागजी रुपमा ताकेता गरेको छैन । असार मसान्तपछि पनि बहुबर्षिय योजनाहरु अघि नबढाए चेतावनीसहित ताकेता गरिने मन्त्रालयले जनाएको छ ।

‘साना र कम सयममै सक्नुपर्ने अलपत्र योजना अघि बढाउन ताकेता गरिएको छ । तर बहुबर्षिय योजनाहरुबारे ताकेता गरिएको छैन, अब असार मसान्तपछि हामी पत्रमार्फतनै ताकेता गर्नेछौं ।’

यी हुन् अलपत्र योजना

बागमती प्रदेशका १३ जिल्ला मध्ये प्रायः पहाडी क्षेत्रका योजनाहरु अलपत्र परेका छन् ।

भौतिक पूर्वाधार विकास मन्त्रालयको तथ्यांकअनुसार सिन्धुपाल्चोक, दोलखा, रामेछाप, सिन्धुली, चितवन र धादिङका योजनाहरु अलपत्र छन् । सिन्धुपाल्चोकमा मुडे–बाघखोर–कालापानी सडक स्तरोन्नति, दोलखा–बाह्रबिसे–धुस्कुन–पिस्कर सडक स्तरोन्नति, किलो–अत्तरपुर–लिसंखु सडक आयोजना, चौतारा–सिपाघाट–कात्तिके काठमाडौं (झ्याड़ी–देउराली खण्ड) सडक, सिताकोथान–जुँगुँ–झ्याँकु गाउँपालिका सडक स्तरोन्नति, दोलखामा नौबिसे–चौतारा सडक, भटमासे–जिलु सडक, दोलखा–चर्नावती खोला सडक पुल आयोजना, दोलखा–चरिकोट–कालिञ्चोक (देउराली कुरी खण्ड) सडक आयोजनाको काम अघि बढ्न सकेको छैन ।

पूर्वाधार विकास कार्यालय रामेछापबाट भइरहेको बहुवर्षीय योजनाको निर्माण कार्य अलपत्र परेका छन् । खानीखोला पुल, मन्थली गल्भा चौरी सडक, खिम्ती बेतली धारापानी सडक, कालोचौतारा सिंगटी गल्भ सडक, सिक्टा भीरपानी सडकखण्ड, लिखु करिडोर र मन्थली गाइखुरा सडक खण्डको काम अलपत्र परेको मन्त्रालयले जनाएको छ ।

प्रादेशिक सडक डिभिजन कार्यालय सिन्धुलीबाट बहुवर्षीय योजनामा लगाएको ठेक्का अघि बढ्न सकेको छैन । कार्यालयले क्यान खोला सडक पुल, क्यनेस्वर क्वाटर, सिन्धुली, आरुबोटे खोला पुल, सुनकोशी, मरिण खोलामा पक्कि पुल (हरिहरपुर गाउँपालिका–२ को बाखफर र वडा–४ को हाकपुर जोड्ने सडक), सिन्धुली, कमलामाई नगरपालिका–९ र १० जोड्ने सडकको कमला नदीमा पक्की सडक पुल, सिन्धुलीगढी–मझुवा–काफलचौरी–दुम्जा सडक आयोजना, सिन्धुली, भिमस्थान चकमके उदयपुर कटारी सडक (दोस्रो खण्ड) अलपत्र परेको छ ।

यसैगरी, सिन्धुली, भिमस्थान चकमके उदयपुर कटारी सडक, घाँसा कल्लेरी मालुखोला सडक दोलखा, सुकुटे चापागाउँ मेलडाँडा थोकार्पा भन्ज्याङ्ग सडक, सिन्धुपाल्चोक, फिल्मसिटी एक्सेस सडक (कालोपत्रे कार्य), दोलखा–जगाडी–धनसरी सडक कालोपत्रे, सिन्धुली–बौलाखोला पक्कीपुल, पातीपरान खोला स्ल्याब कजवे, कमला नगरपालिका र लुङ्लिटार दुम्की ठाक्ले बाँसकटेरी सडक योजना अलपत्र परेको छ ।

पूर्वाधार विकास कार्यालय चितवनले चालु आर्थिक वर्षमा बहुवर्षीय तथा साना १ सय ४१ वटा योजना निर्माण कार्य सम्पन्न गर्न नसक्ने मन्त्रालयलाई पत्राचार गरिसकेको छ । प्रादेशिक सडक डिभिजन कार्यालय धादिङलेले १ सय ८० वटा योजनाहरु प्रभावित भएको र ९ वटा बहुवर्षीय योजना बढी प्रभावित बनेको पत्रमार्फत मन्त्रालयलाई जानकारी दिइसकेको छ ।