२०८१ बैशाख १३, बिहीबार    

बागमतीमा सरकार निर्माणको बाटो खुल्ला

२०७९ पौष २, शनिबार १४:४० बजे

निर्वाचन आयोगले आज शनिबार मंसिर ४ गते सम्पन्न प्रदेशसभा निर्वाचनमा बागमती प्रदेशसभाका लागि निर्वाचित सदस्यहरूको विवरण प्रदेश प्रमुख यादवचन्द्र शर्मा समक्ष पेश भएको छ ।

प्रदेश निर्वाचन कार्यालय बागमती प्रदेश हेटौंडाका अनुसार बागमती सहित अन्य ६ वटै प्रदेशका प्रदेश प्रमुखहरु समक्ष निर्वाचित सदस्यहरूको विवरण एउटै समयमा पेस गरिएको हो । प्रदेशसभा सदस्य निर्वाचन ऐन २०७४ दफा ६२ अनुसार निर्वाचन आयोगका सचिव गोकर्णमणि दवाडीले शनिबार दिउँसो १ बजे प्रदेश प्रमुख कार्यालय हेटौंडा–१०मा प्रदेश प्रमुख शर्मा समक्ष बागमती प्रदेशसभाका लागि निर्वाचित सदस्यहरुको विवरण सहितको प्रतिवेदन पेश गरेको हो । आयोगले तयार पारेको प्रतिवेदन अनुसार गत निर्वाचनमा बागमती प्रदेशसभाका लागि प्रत्यक्षतर्फ निर्वाचित ६६ र समानुपातिकतर्फ ४४ गरी कुल ११० सदस्य निर्वाचित भएका छन् भने प्रदेशसभामा ७ वटा दलको प्रतिनिधित्व रहेको छ ।

प्रदेश प्रमुख शर्माले आयोगको प्रतिवेदन बुझेसंगै बागमती प्रदेशसभाको औपचारिक कार्यक्रम र सरकार निर्माणको बाटो खुल्ला भएको छ । बागमती प्रदेशको प्रदेशसभातर्फ ११० जना निर्वाचित सदस्य मध्ये पुरुष ७० जना (६३ दशमलव ६३ प्रतिशत) र महिला ४० जना (३६ दशमलव ३७ प्रतिशत) निर्वाचित भएको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदन अनुसार बागमती प्रदेश लसभा सदस्य निर्वाचनमा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ ३५ र समानुपातिक निर्वाचन प्रणालीतर्फ ४० राजनीतिक दल निर्वाचनमा सहभागी भएको मध्ये  प्रत्यक्षतर्फ पुरुष ५८८ र महिला ८० गरी कूल ६६८ जनाको अन्तिम उम्मेदवारी कायम भएको थियो भने समानुपातिक तर्फ कूल ७५४ जना उम्मेदवारको अन्तिम बन्द सूची कायम गरिएको थियो । उक्त प्रतिवेदनमा प्रदेशमा महिला १७ लाख ३३ हजार ३७८, पुरुष १७ लाख ३८ हजार ८७ र अन्य २७ गरी कूल ३४ लाख ७१ हजार ४९२ मतदाता कायम रहेका थिए । प्रत्यक्ष तर्फ २१ लाख ४ हजार ५७८ (६० दशमलव ६२ प्रतिशत) मतदान भएकोमा ७६ हजार ९३८ (३ दशमलव ६६) प्रतिशत मत बदर भएको थियो ।

त्यस्तै समानुपातिक निर्वाचनमा २० लाख ९९ हजार १०७ (६० दशमलव ४७ प्रतिशत) मतदान भएकोमा १ लाख २५ हजार ६३३ (५ दशमलव ९९ प्रतिशत) मत बदर भएको थियो । बागमती प्रदेशमा ३३ वटा राजनीतिक दलको धरौटी जफत भएको प्रतिवेदनमा उल्लेख छ । प्रदेशमा १० प्रतिशतभन्दा कम मत प्राप्त गर्ने पुरुष उम्मेदवार ४१७ र महिला उम्मेदवार ६७ जना गरी कूल ४८४ जनाको धरौटी जफत भएको छ ।