२०८१ बैशाख २५, मंगलबार    

अभिव्यक्ति स्वतन्त्रताप्रति कांग्रेस प्रतिबद्ध : प्रधानमन्त्री देउवा

२०७९ श्रावण ६, शुक्रबार १२:५४ बजे

प्रधानमन्त्री शेरबहादुर देउवाले निष्पक्ष पत्रकारितामा जोड दिएका छन् ।

शुक्रबारबाट हेटौंडामा सुरु भएको नेपाल प्रेस युनियनको ९ औंं महाधिवेशन उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले पछिल्लो समय नियोजित रुपमै लान्छना लगाउने क्रम बढेको भन्दै निष्पक्ष पत्रकारिताले मात्रै मुलुक र लोकतन्त्रलाई बलियो बनाउने धारणा बताए । ‘राजनीतिक स्थायित्वको बिषयमा पत्रकारिता जगतले कलम चलाउनुपर्ने आवश्यक छ । परिवर्तनका लागि भएको नेपालको आन्दोलनमा प्रेसको भूमिका महत्वपूर्ण रहेको छ ।’, देउवाले भने ।

कोरोनाकालमा सञ्चार माध्यमको भूमिका महत्वपूर्ण रहेको उनले स्मरण गरे । ‘सत्यतथ्य सूचनाले मात्रै मुलुकको विकास हुन्छ । लोकतन्त्रलाई बलियो बनाउन स्वच्छ पत्रकारिता गर्न जरुरी छ ।’, उनले कांग्रेस लोकतन्त्र र अभिव्यक्ति स्वतन्त्रताप्रति सदैव प्रतिबद्ध रहेको जनाए ।

प्रधानमन्त्री देउवाले निकट भविष्यमै प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनको मिति तोकिने बताए । ‘हामी आमनिर्वाचनको तयारीमा छौं । निर्वाचनलाई स्वच्छ, भयरहित र मर्यादित बनाउने गरी कलम चलाइदिनुहुन अनुरोध गर्दछु ।’, प्रधानमन्त्री देउवाले भने ।

सूचना तथा सन्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सरकार प्रेस स्वतन्त्रताको पक्षमा रहेको बताए । नेपाल श्रीलंकाको बाटोमा जाादैछ भनेर अफवाह फैलाइएको भन्दै उनले यस बिषयलाई मिडियाले चिर्नुपर्ने बताए । ‘हाम्रो देशको अर्थतन्त्रमा केही समस्या छन् तर, श्रीलंकाको पथमा जाँदैन । नेपाल छिट्टै सबल अर्थतन्त्र भएको मुलुकमा दर्ज हुनेछ ।’, उनले भने ।

नेपाल प्रेस युनियन अध्यक्ष बद्री सिग्देलको अध्यक्षतामा महाधिवेशन भएको हो । नेपाली कांग्रेसको शुभेच्छुक संगठनको रुपमा रहेको युनियनको महाधिवेशनमा सहभागी हुने देशभरबाट पत्रकार, प्रतिनिधि तथा शुभेच्छुक गरी करिब दुईहजार जना हेटौंडामा भेला भएका छन् । भेलाले तीनवर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्नेछ । नेतृत्वको विषयमा दुई खेमामा विभाजन भएर उम्मेदवारी घोषणा सुरु भइरहेको छ ।

महाधिवेशनमा सहभागी हुन कांग्रेसका शीर्ष नेतृत्व हेटौंडामा आएका छन् ।