२०८१ बैशाख ७, शुक्रबार    

२८ वर्षपछि हेटौंडामा राप्रपाको 'कमब्याक'

२०७९ मंसिर ८, बिहीबार १५:०५ बजे

सत्तारुढ गठबन्धन र राप्रपा नेपालसँग एमालेको तालमेललाई पन्छाउँदै मकवानपुरबाट २८ वर्षपछि राप्रपाका नेता दीपकबहादुर सिंहले प्रतिनिधिसभाको यात्रा तय गरेका छन् । सिंहले नेपाली कांग्रेस केन्द्रीय सहमहामन्त्री महालक्ष्मी उपाध्याय 'डीना' र आफ्ना राजनीतिक गुरु कमल थापालाई पराजित गर्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् । उनले कांग्रेस सहमहामन्त्री डीनालाई २ हजार ३ सय ८२ मतान्तरले पराजित गरेका हुन् ।

सिंहले २७ हजार ८ सय १६ मत पाउँदा डीनाले २५ हजार ४ सय ३४ मत ल्याइन् । एमालेको चुनाव चिह्नबाट उम्मेदवार बनेका राप्रपा नेपालका केन्द्रीय अध्यक्ष थापाले २५ हजार ४ सय २० मत पाए ।

वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा हेटौंडा उपमहानगरपालिकाको मेयर पदमा पराजित भए पनि अप्रत्याशित रुपमा लोकप्रिय मत पाएर हौसिँदै प्रतिनिधिसभामा उम्मेदवारी दिएका सिंह पाँचौं पटकमा जनप्रतिनिधिको रुपमा निर्वाचित हुन सफल भएका हुन् । सिंहले हालसम्म कुनै पनि आम निर्वाचन जितेका थिएनन् ।

स्थानीय तहको निर्वाचनमा उनले हेटौंडा बजार क्षेत्रबाट व्यापक मत प्राप्त गरे पनि ग्रामीण क्षेत्रमा पछाडि परेका थिए । यस निर्वाचनमा उनले हेटौंडा उपमहानगरको ग्रामीण क्षेत्रमा पर्ने र स्थानीय तहमा कम मत प्राप्त गरेको हेटौंडा–१२, १३, १४ र १५ नम्बर वडामा आफ्नो पक्षमा मत बढाउन निकै कसरत गरे । उनले यी वडाहरूमा रहेको जनजाति समुदायको मत विशेषगरी आफ्नो पक्षमा ल्याउन कुनै कसर बाँकी राखेनन् । उनले जनजातिलाई खुसी बनाउन पार्टीका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनलाई दुईपटक आमसभामा सम्बोधन गर्न लगाएका थिए । फलस्वरुप ती वडाबाट उनले करिब ५० प्रतिशतभन्दा बढी मत प्राप्त गरे । हेटौंडाको मुख्यबजार क्षेत्रबाट पनि उनले व्यापक जनसमर्थन प्राप्त गरेका छन् ।

सत्तारुढ गठबन्धनभित्र रहेको व्यापक असन्तुष्टि, नेपाली कांग्रेसभित्र बढ्दो गुटगत राजनीतिको प्रभाव र एमालेको आफ्नो उम्मेदवार नभएको अवस्थामा उनले रुष्ट मतलाई सहजै आफ्नो पक्षमा पार्न सफल भएका हुन् ।

२०५४ सालमा तत्कालीन हेटौंडा नगरपालिकाको मेयर पदमा नेकपा एमालेका डोरमणि पौडेलसँग पराजित भएका सिंह २०५६ मा मकवानपुर क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्य पदमा एमालेकै विरोध खतिवडासँग पराजित भएका थिए । २०७० को संविधानसभा सदस्य निर्वाचनमा नेकपा एमालेका अनन्त पौडेलसँग पनि उनी पराजित भएका थिए ।

२०५१ सालको मध्यावधि निर्वाचनमा राप्रपाका तत्कालीन उम्मेदवार कमल थापाले एमालेका कृष्ण दाहाललाई पराजित गरेपछि मकवानपुरमा राप्रपाको संसदीय यात्रा ओरालो लाग्न सुरु भएको थियो । तत्कालीन माओवादीको सशस्त्र संघर्ष र थापाको सत्ता केन्द्रीत राजनीतिका कारण मकवानपुरमा राप्रपाको अवस्था अत्यन्त कमजोर अवस्थामा पुगेको थियो ।

पार्टीको अवस्था असाध्यै कमजोर हुँदा पनि उनले मैदान छाडेनन् । दोस्रो संविधानसभाको निर्वाचनमा थोरै मतान्तरले पराजित भए पनि उनी पार्टी केन्द्रीय सदस्यको रुपमा कार्यकर्ता माझ नै बसिरहे । राप्रपा महाधिवेशनमा कमल थापा अध्यक्षमा राजेन्द्र लिङ्देनसँग पराजित भएपछि उनी संस्थापन पक्षमै बसेका थिए ।