२०८१ बैशाख १३, बिहीबार    

थापालाई स्वीकार्न एमाले मतदाताको छटपटी

२०७९ आश्विन २७, बिहीबार ११:२९ बजे

हेटौंडा–१७ राजदेवीका विष्णु ढुंगाना अहिले दोधारमा छन् । आफ्नो पार्टी एमालेले गरेको निर्णय मान्ने कि विद्रोह गर्ने भनेर ? बहुदल प्राप्तिका लागि २०४६ मा भएको आन्दोलनमा फागुन ७ मा हेटौंडामा गोली लागेर घाइते भएका उनी एमालेका संगठित सदस्य हुन् । पार्टीले राप्रपा नेपालका अध्यक्ष कमल थापालाई मंसिर ४ मा हुने प्रतिनिधिसभाको निर्वाचनमा मकवानपुर–१ बाट उम्मेदवार बनाएपछि उनमा निराशा छाएको छ ।

तत्कालीन समयमा सञ्चारराज्यमन्त्री बनेका थापा पञ्चायतविरुद्धको आन्दोलत दबाउन तत्कालीन प्रधानमन्त्री मरिचमान सिंह, राष्ट्रिय पञ्चायतका अध्यक्ष नवराज सुवेदी, गृहराज्यमन्त्री निरञ्जन थापासँग मिलेर सक्रिय थिए । लोकतन्त्र प्राप्तिका लागि २०६२/६३ मा भएको जनआन्दोलन दबाउँदा पनि थापा गृहमन्त्रीकै भूमिकामा थिए । उक्त आन्दोलनमा ढुंगाना पनि सक्रिय थिए । कार्यकर्ताको मनोभावना नबुझी केवल सत्ता प्राप्तिका लागि पार्टीले थापालाई सूर्य चिह्न दिई उम्मेदवार बनाउने निर्णय गरेको उनको ठम्याइ छ ।

‘सत्ता प्राप्त गर्न जे पनि गर्न दलहरु तयार भएको देखिन्छ । जसको कारणले गर्दा यो व्यवस्था नै रहँदैन कि भन्ने डर छ,’ गोली लागेपछि दायाँ हात माथि गर्न नसक्ने अवस्थामा रहेको ढुंगानाले पार्टीको केन्द्रीय तहबाट भएको निर्णय गलत भएको दाबी गर्छन् । उनीमात्र होइनन्, थापालाई उम्मेदवार बनाएपछि एमालेका पुराना र युवा नेता आक्रोशित छन् । उनीहरुले पार्टीका पाका नेता तथा जिल्ला इन्चार्ज रामेश्वर रानाको टिकट खोसिएको झोकमा हेटौंडा–४ स्थित पार्टी कार्यालयमा तालाबन्दी नै गरेर विरोध जनाए । रानाको टिकट खोसिएपछि हालसम्म उनी सार्वजनिक कार्यक्रममा देखिएका छैनन् । एमाले जिल्ला सचिव नवीन सिग्देलले कमल थापाले टिकट पाएको थाहा पाउनेबित्तिकै आफ्नो फेसबुकमा ‘अनिष्ट’ भनेर प्रतिक्रिया दिएका थिए । जिल्लामा लामो समयदेखि एमाले र थापाबीच राजनीतिक शक्ति संघर्ष चलिरहेको थियो । यस्तो अवस्थामा जिल्लाको नेता तथा कार्यकर्तासँग छलफल नै नगरी एमाले अध्यक्ष केपी ओलीले सीधै केन्द्रीयता लादेर टिकट दिए । सूर्य चिह्न लिएर मकवानपुर–१ बाट प्रतिनिधिसभाका निम्ति थापाले उम्मेदवारी दिएपछि उक्त निर्वाचन क्षेत्रका स्थानीय पाका खालका अधिकांश एमालेका कार्यकर्ता उदासीन भएका छन् । ‘किन कमल थापालाई सूर्य चिह्न दिएर एमालेले चुनाव लडायो, यो बुझ्नै सकिएन,’ हेटौंडा–१७ राजदेवीका ८३ वर्षीय कृष्णप्रसाद नेपालले भने, ‘जिल्लाको इमानदार नेता रामेश्वर रानालाई रातारात पन्छाएर किन गाला जोडे कमल थापा र केपीले ? बुझ्न सकिएन ।’

‘जनाधार कमजोर भएको फरक पार्टीको उम्मेदवारलाई समर्थन गरेर आफ्ना नेतालाई सहिद बनाएको,’ भन्दै एमाले कार्यकर्ता खुलेर थापाको समर्थनमा लागिसकेका छैनन् । एमालेको चुनाव चिह्न लिए पनि उम्मेदवारी दिन जाँदा थापाको साथमा एमालेको कोही पनि नेता तथा कार्यकर्ता सहभागी थिएनन् । एमालेको प्रदेश र प्रतिनिधिसभाको अन्य उम्मेदवार एकैपटक उम्मेदवारी दिन गए पनि थापा भने एक्लै गएका थिए । सत्ता गठबन्धनबाट सबै उम्मेदवारसँगै एमालेसँगको गठबन्धनबाट उम्मेदवार बनेका थापा ‘सुटुक्क’ निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए । उनले सूर्य चिह्नबाट चुनाव जिते, पाँच वर्ष एमालेको संसदीय दलको विधानअनुसार चल्नुपर्नेछ । वैधानिक रूपमा उनी एमालेका सांसद हुनेछन् ।

राजतन्त्र र हिन्दु धर्मको पक्षमा लामो समयदेखि राजनीति गर्दै आएका थापा एमालेको चुनाव चिह्न ‘सूर्य’ लिएर उम्मेदवार बनेसँगै मुलुकको देशको राजनीति नै तरंगित भएको छ । अघिल्लो पटक यसै निर्वाचन क्षेत्रबाट कांग्रेसको सहयोगमा आफ्नै पार्टीको चुनाव चिह्न लिएर मैदानमा उत्रिएका थिए । तत्कालीन समय थापा एमालेका उम्मेदवार कृष्ण दाहालसँग पराजित भएका थिए ।

पटक–पटक हारको स्वाद चाखेका थापाले यसपटकको निर्वाचनलाई राजनीतिक जीवनको अन्तिम चुनाव हुने बताउँदै एमालेको रुष्ट रहेका कार्यकर्तालाई फकाउन अनेक कोसिस गरिरहेका छन् । केही दिनअघि एमालेको चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रममा सहभागी भएका उनी एमालेको पार्टी प्रवेश कार्यक्रममा अतिथि बन्दै सम्बोधनसमेत गर्न भ्याए । हाल घरदैलोमा व्यस्त रहेका थापा एमालेको समर्थन पाउन सार्वजनिक रूपमा एमाले अध्यक्ष ओलीको प्रशंसा गरिरहेका छन् । उनले आफ्नो उम्मेदवारीलाई राष्ट्रिय आवश्यकताको रूपमा परिभाषित गरिरहेका छन् । ‘राष्ट्रिय आवश्यकताका कारण एमालेको सहयोगमा चुनावी मैदानमा उत्रिएको छु । अहिलेको आवश्यकता भनेको राष्ट्रवादी शक्तिबीच सहकार्य गर्नु नै हो,’ थापाको भनाइ थियो । राष्ट्रियता र लोकतन्त्रको रक्षाका लागि एमालेसँगको सहकार्यले निरन्तरता पाउने बताए । मकवानपुरका जनताले यसपटक आफूलाई निराश नपार्ने दाबी उनको छ ।

आठौं पटक चुनावी मैदानमा रहेका थापाले एमालेको बलियो संगठनको बलमा चुनाव जित्ने दाबी राप्रपा नेपाल महामन्त्री राजाराम बर्तौलाको छ । ‘उहाँले प्रदेशको राजधानी हेटौंडा ल्याउन खेल्नुभएको भूमिका र समग्र जिल्ला विकासमा पुर्‍याएको योगदानकै कारण निर्वाचित हुनेमा हामी ढुक्क छौं,’ बर्तौलाले एमालेभित्र रुष्ट बनेकाहरुसँग निरन्तर वार्ता र सम्वाद भइरहेको बताए । ‘टिकट लिने विषयमा आफ्नै पार्टीभित्र पनि सामान्य विवाद भइहाल्छ । यसलाई ठूलो रूपमा लिएको छैनौं,’ बर्तौलाले भने ।

थापाले अरु उम्मेदवारलाई भने राप्रपा नेपालको चुनाव चिह्न तीर लिएर मैदानमा उतारेका छन् । ‘नयाँ पार्टी चुनाव चिह्न स्थापित छैन । चुनाव जित्नका लागि भएकाले सूर्य चिह्न लिएको हो,’ बर्तौलाले भने, ‘यसलाई सहज रूपमा लिनुपर्छ । अरु क्षेत्रमा एमालेले दिएको भए सूर्य चिह्नमा उम्मेदवार उठाउँथ्यौँ ।’ २०४६ सालको आन्दोलनमा उक्त निर्वाचन क्षेत्रका एक महिलासहित ३ जना गोलीको सिकार बनेका थिए । आन्दोलनमा राजदेवीका विष्णु ढुंगाना, हटियाकै रामबहादुर भुजेल र हेटौंडा–९ की सीता बिडारी घाइते भएका थिए । पञ्चायतीकालमा मकवानपुर जिल्लामा कलम थापा पञ्चायतको पर्याय थिए । त्यति बेलाका कम्युनिस्ट र कांग्रेसका कार्यकर्ताहरु उनीबाट भयभीत थिए । कांग्रेसबाट २०७४ मा र २०७९ मा कम्युनिस्टबाट चिह्नसहित लिएर उम्मेदवार बन्न सफल भएका छन् । २०७४ को निर्वाचनमा कांग्रेसको समर्थनमा आफ्नै चुनाव चिह्नमा उनी निर्वाचनमा होमिएका थिए । तर सफल हुन सकेनन् । अहिले सूर्य चिह्नसहित एमालेको सहयोगमा निर्वाचनको मैदानमा खडा भएका छन् । आफ्नो पक्षमा नतिजा निकाल्नका लागि थापा अहिले एमालेका जिल्ला र गाउँका तहका नेताहरुलाई ‘कभिन्स’ गर्दै छन् । थापालाई उक्त क्षेत्रमा पटक/पटक पराजित गर्न सफल भएका एमालेका नेता कृष्णप्रसाद दाहालले पार्टीको हाई कमान्डले गरेको निर्णयको फेसबुकमार्फत विरोध जनाएर काठमाडौंमा बसिरहेका छन ।

सहज छैन थापालाई

एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको सम्बन्धका कारण उनले अन्तिम समयमा टिकट पाउन सफल भए । यसअघि पनि २०७४ को निर्वाचनमा राप्रपा हुँदा नै झापालागयत केही क्षेत्रमा एमालेसँग तालमेल गरे पनि थापाले भने मकवानपुरमा कांग्रेसको साथ रोजेका थिए । सोही समयमा नै एमालेको सहयोगमा मकवानपुर आउने प्रस्ताव ओलीले गरेको थापाको दाबी थियो । यद्यपी यो पटक भने ओलीले अन्तिम समयमा आएर थापालाई टिकट दिएका छन् । ओली पहिलो पटक प्रधानमन्त्री हुँदा परराष्ट्रमन्त्री बनेका थापाले भारतीय नाकाबन्दीको समयमा ओलीलाई डटेर साथ दिएका थिए । अन्तर्राष्ट्रिय मञ्चमा पनि थापाले ओलीको बलियो समर्थन गरेका थिए । यसै कारण पनि उनलाई टिकट ल्याउन सहज भएको एमाले वृत्तको अनुमान छ । तर, थापालाई सूर्य चुनाव चिह्नबाट लड्दा पनि सहज भने देखिँदैन । कुनै समयका सहयात्री राप्रपाबाट दीपकबहादुर सिंहले पनि यसै क्षेत्रबाट निर्वाचन लड्दै छन् । उपमहानगरपालिकाको मेयर पदमा उनले पाँच दलीय गठबन्धन र एमालेका विरुद्धमा एक्लै उठेर ल्याएको मतले धेरैलाई झस्काएको थियो । कमल थापाको आफ्नै जनमत पनि सिंहतिर नै स्थिर रहेको देखिन्छ ।

गत मंसिर दोस्रो साता भएको राप्रपा महाधिवेशनमा अध्यक्षमा राजेन्द्र लिङ्देनसँग पराजित भएपछि उनले पुरानै राप्रपा नेपाल ब्युँताए । त्यसपछि उनले राजतन्त्रको मुद्दा त्यागे । अहिले थापा हिन्दु राष्ट्रको एजेन्डासहित निर्वाचन आयोगमा राप्रपा नेपाल पार्टी दर्ता गराएका छन् । पूर्वराजा ज्ञानेन्द्र शाहले हस्तक्षेप गरी आफूलाई हराएको आरोप लगाउँदै उनले राप्रपा नेपाल ब्युँत्याए । भर्खरै ब्युँतिएको नयाँ दल र राजतन्त्रको एजेन्डा त्यागेका उनलाई लामो समय आफूसँगै राजनीतिक गरेका सहकर्मीले समेत साथ छाडेका छन् । थापा उम्मेदवार रहेको क्षेत्रबाट उनका पुराना सहकर्मी सिंहसहित कांग्रेस सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिना प्रतिस्पर्धामा छिन् ।

गत वैशाख ३० मा सम्पन्न स्थानीय तहको निर्वाचनको परिणामलाई हेर्दा थापा एमालेसँगको गठबन्धनबाट उम्मेदवार बने पनि उनलाई चुनाव जित्न निकै मुस्किल पर्ने देखिन्छ । स्थानीय तहको निर्वाचनमा जिल्लाभर एउटा पनि उम्मेदवार नउठाएर थापाले एमालेलाई सहयोग गरेका थिए । थापाले कागजी रूपमा एमालेलाई सहयोग गरे पनि कार्यकर्ताले सिंहलाई मतदान गरेको आरोप एमालेजनको छ ।

स्थानीय तहको निर्वाचनमा मकवानपुरका १० स्थानीय तहमध्ये ८ वटा पालिकाको नेतृत्वमा गठबन्धन विजयी भएको छ । एमालेको लालकिल्ला गठबन्धनले स्थानीय तह निर्वाचनमा भत्काइसकेको कारण थापालाई निर्वाचित हुन फलामको चिउरा चपाए सरह हुने देखिन्छ ।

स्थानीय निर्वाचनमा एमालेलाई समर्थन गरेको थापाको पार्टीले मकवानपुरको कुनै पनि पदमा उम्मेदवारीसमेत दिएन । त्यसैलेको उनको पार्टीको पक्षमा कति मत छ भन्ने तथ्यांक पनि छैन । राप्रपा छाडेसँगै उनलाई वर्षौदेखि साथ दिँदै आएको उनको अधिकांश कार्यकर्ताले उनको साथ छाडेका छन् । उक्त निर्वाचन क्षेत्रमा ४ वटा पालिकाका ४० वटा वडा पर्छन् । हेटौंडा उपमहानगरका १५, मकवानपुरगढीको ४, बकैया गापाको १२ र वाग्मती गापाको ९ वडा यस निर्वाचन क्षेत्रमा पर्छन् । स्थानीय तहको निर्वाचनमा ४० वटा वडामध्ये १४ वटा वडामा मात्र एमालेको वडाध्यक्ष विजयी भएका छन् । चार वटा पालिकामा एमालेका मेयर/उपमेयर, अध्यक्ष र उपाध्यक्ष पदमा विजयी भएका छैनन् । यस क्षेत्रमा ७५ हजार २ सय २१ पुरुष, ७४ हजार ९ सय ३० महिला र अन्य चार गरी १ लाख ५० हजार १ सय ५५ हजार मतदाता छन् । उक्त क्षेत्रमा दुई स्वतन्त्रसहित १६ जना चुनावी मैदानमा छन् ।

थापाको निर्वाचन र राजनीतिक पृष्ठभूमि

प्रजातन्त्र पुनःस्थापनापछि भएको पहिलो आमनिर्वाचन २०४८ मा पराजित भएका थापाले २०५१ को मध्यावधि चुनावमा भने विजयी भएका थिए । २०५१ यता हालसम्म ८ प्रधानमन्त्रीत्वकाल र २०६२ को पूर्वराजा ज्ञानेन्द्रको मन्त्रिमण्डलमा गरी ९ पटक मन्त्री बनिसकेका छन् उनी । २०४८ को निर्वाचनमा मकवानपुर–१ मा थापालाई एमालेका कृष्ण दाहालले पराजित गरेका थिए । ०५१ को मध्यावधि चुनावमा थापाले त्यसको बदला लिए । तर, मकवानपुर–२ बाट पनि उठेका उनलाई तत्कालीन एमालेका विरोध खतिवडाले पराजित गरे । २०५६ मा थापा मकवानपुर–१ मा दाहालसँग पराजित भए । त्यसबेला दाहालले २० हजार ४४२ मत पाउँदा थापाले १५ हजार ९८५ मत प्राप्त गरेका थिए । मकवानपुर–३ बाट पनि उम्मेदवारी दिएका उनी त्यहाँ पनि एमालेका वीरबहादुर लामासँग करिब २ हजार मतान्तरले पराजित भए ।

२०६४ को संविधानसभा निर्वाचनमा मकवानपुर–३ बाट उम्मेदवार बनेका थापा तेस्रो भए । उक्त निर्वाचनमा माओवादीबाट विजयी हुँदा एमाले दोस्रो भएको थियो । २०७० को संविधानसभा निर्वाचनमा भने थापा प्रतिस्पर्धामा उत्रिएनन् । पत्नी प्रमिला थापालाई मकवानपुर–१ बाट उम्मेदवार बनाएर आफू समानुपातिक उम्मेदवार बनेका थिए । समानुपातिकबाट सांसद बनेका उनी ओली, पुष्पकमल दाहाल र शेरबहादुर देउवा तीनै प्रधानमन्त्रीका मन्त्रिमण्डलमा मन्त्री बने ।

२०७४ को प्रतिनिधिसभामा उनले मकवानपुर १ मै फेरि उम्मेदवारी दिए । थापाका प्रतिस्पर्धी थिए, उनै तीन पटक प्रतिस्पर्धा गरेका दाहाल । तर उक्त निर्वाचनमा पनि थापा पराजित भए । कांग्रेस–राप्रपाको गठबन्धनलाई माओवादी–एमाले गठबन्धका दाहालले करिब ६ हजार मतान्तरले थापालाई पराजित गरेको थियो । दाहालले ४० हजार ६३१ मत पाउँदा थापाले ३४ हजार ६३५ मत ल्याएका थिए ।