२०८१ बैशाख २०, बिहीबार    

शान्तिपूर्ण निर्वाचन गराउन सबैको भूमिकाः प्रजिअ पाण्डे

२०७९ कार्तिक २९, मंगलबार १७:३० बजे

मकवानपुरका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले शान्तिपूर्ण र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउन सबैको भूमिका उत्तिकै महत्वपूर्ण हुने बताएका छन् । 

सोमबार हेटौंडामा भएको निर्वाचन र मिथ्या सूचनाको चुनौती बिषयक अन्तरक्रियामा उनले जिल्लामा निष्पक्ष, शान्त, स्वतन्त्र र भयरहित निर्वाचन गराउन तयार रहेको बताएका हुन् ।

‘यो निर्वाचन हाम्रा लागि हो, हामीले चुन्ने जनप्रतिनिधिले हाम्रा लागि नीति नियम बनाउने र विकासका काम गर्ने हुन् भन्ने आम सर्वसाधारणले बुझ्न जरुरी छ’, प्रजिअ पाण्डेले भने, ‘यो आफ्नो प्रतिनिधि छान्ने निर्वाचन हो भन्ने जनतालाई बुझाउनु आवश्यक छ ।’  

निर्वाचनको समयमा सामाजिक सञ्जालमा आउने गलत समाचारले भ्रम छरिरहेको उनको प्रतिक्रिया थियो । निर्वाचन संवेदनशील विषय हो भन्ने बुझ्न जरुरी रहेको प्रमुख जिल्ला अधिकारी पाण्डेले बताए । 

‘सामाजिक सञ्जालमा आउने विभिन्न हेडलाइन भएका सामग्रीले पैसाको लागि भए नभएको कुरा लेख्ने प्रवृत्ति रहेको देखिन्छ । घटनालाई अतिरन्जित पार्ने क्रम पनि बढेको छ’, उनले थपे, ‘निर्वाचन शान्तिपूर्ण बनाउन सबैको भूमिका उत्तिकै महत्वपूर्ण भूमिका छ । सामाजिक सञ्जालमा आउने सबै बिषय समाचार होइनन् र आधिकारिक होइनन् भन्ने बुझ्नुपर्ने देखियो ।’ 

नेपाल दुरसञ्चार प्राधिकरणका निर्देशक दिपेश आचार्यले निर्वाचनको समयमा धेरै मिथ्या सूचना आउने गरेको बताए । कार्यक्रमलाई सहजीकरण गर्दै पत्रकार दीपक अधिकारीले सामाजिक सञ्जालमा आएका सबै बिषयलाई समाचार भनेर बुझ्नु गलत हुने बताए । मिथ्या सूचना चिन्न जरुरी रहेको उनको सुझाव थियो ।

नेपाल दुरसञ्चार प्राधिकरणको सहयोगमा भएको अन्तक्र्रिया कार्यक्रम आरके टेक सोलुसन्सले टेकपाना मिडिया प्रालिसँगको सहकार्यमा आयोजना गरेको हो ।