२०८१ जेठ ८, मंगलबार    

रुस-युक्रेन तनाव : अमेरिकाले युरोपमा थप ३ हजार सैनिक तैनाथ गर्दै

२०७८ माघ २०, बिहीबार १०:५५ बजे

काठमाडौँ — रुस र युक्रेनबीच तनाव बढिरहेका बेला अमेरिकाले युरोपका विभिन्न मुलुकमा थप ३ हजार सैनिक तैनाथ गर्ने भएको छ । अमेरिकी रक्षा मन्त्रालयका प्रेस सचिव जोन किर्बीले बुधबार जर्मनी, पोल्यान्ड र रोमानियामा थप ३ हजार सैनिक तैनाथ गरिने जानकारी दिएका हुन् ।

यसअघि अमेरिकाले नेटो गठबन्धनको सेनालाई युरोपमा सहयोग गर्नका लागि ८ हजार ५ सय सैनिकलाई अलर्टमा राखिएको बताएको थियो । प्रेस सचिव किर्बीले तीन मुलुकमा पठाइन लागेका सैनिक भने अलगै भएको जानकारी दिए । अमेरिका र युरोपका विभिन्न ठाउँमा रहेका युनिटबाट ती सैनिक आउने उनले बताए ।

‘यो स्थायी होइन, उनीहरूलाई वर्तमान सुरक्षा अवस्थालाई मध्यनजर गर्दै पठाउन थालिएको हो,’ पत्रकार सम्मेलनमा किर्बीले भने, ‘यो फौज युक्रेनमा लडाइँ गर्न जाने भने होइन । तिनीहरू नेटोमा आबद्ध मुलुकको सुरक्षालाई सुनिश्चित गर्न मात्र जान लागेका हुन् ।’

किर्बीका अनुसार जर्मनीको फोर्ट ब्रागबाट १ हजार अमेरिकी सैनिक रोमानिया जानेछन् । रोमानियामा पहिले नै ९ सय अमेरिकी सैनिक तैनाथ छन् । त्यस्तै फोर्ट ब्राग र नर्थ क्यारोलाइनाबाट गरी २ हजार सैनिक पोल्यान्डमा तैनाथ गरिने भएको छ । त्यस्तै एउटा हेडक्वार्टर समूहका रूपमा जर्मनीमा पनि फौज पठाइने उनले बताए । त्यस्तै आवश्यकताअनुसार थप फौज पठाउन सकिने उनको भनाइ छ ।

रुसले युक्रेनको सीमा क्षेत्रमा एक लाख सैनिक तैनाथ गरेपछि त्यस क्षेत्रमा तनाव बढेको हो । त्यसबारे पहिलो पटक सार्वजनिक धारणा राख्दै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले मंगलबार अमेरिकाका कारण तनाव थप गहिरिएको बताएका छन् । यद्यपि उनले वार्ताको सम्भावना कायमै रहेको बताएका छन् ।

रुसले युक्रेनको दक्षिणी क्राइमिया द्वीपलाई आफ्नो नियन्त्रणमा लिएको र पूर्वी डोनबास क्षेत्रको रक्तपातपूर्ण विद्रोहलाई समर्थन गरेको करिब ८ वर्षपछि युक्रेनमाथि आक्रमणको योजना बनाएको अमेरिकालगायतको आरोप छ । यद्यपि, रुसले त्यसलाई अस्वीकार गरिरहेको छ ।

युक्रेन सरकार पूर्वी क्षेत्रमा शान्ति पुनःस्थापनाका लागि अन्तर्राष्ट्रिय सम्झौताहरू लागू गर्न असफल भएको रुसको आरोप छ । त्यस क्षेत्रमा हालसम्म कम्तीमा १४ हजार मानिसको ज्यान गइसकेको छ र अधिकांश क्षेत्र रुस समर्थित विद्रोहीको नियन्त्रणमा छन् । विश्वका सबैभन्दा ठूला आणविक हतियारसम्पन्न रुस र अमेरिकाबीचको पछिल्लो तनाव शीतयुद्धपछिकै ठूलो भएको जनाइएको छ । युक्रेन त्यतिबेला भने कम्युनिस्ट सोभियत संघको एक महत्त्वपूर्ण हिस्सा थियो । (इकान्तिपुरबाट)