२०८१ जेठ ३, बिहीबार    

स्थानीय तहको निर्वाचन मिति तोकिँदै

२०७८ माघ ४, मंगलबार १६:०८ बजे

हेटौंडा/ सरकारले केहिदिनभित्र स्थानीय तहको मिति घोषणा गर्ने भएको छ । सत्तारूढ गठबन्धनबीच आगामी वैशाखमा स्थानीय तहको निर्वाचन गर्ने सम्बन्धमा सहमति भएसँगै सरकारले आवश्यक तयारी अगाडि बढाउने भएको हो ।

मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकमा वैशाखमा स्थानीय तहको चुनाव गर्ने सहमति भएको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेऽबहादुर कार्कीले जानकारी दिए । तोकिएकै समयमा स्थानीय निर्वाचनका लागि दलहरू सहमत भएको भन्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा–माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, जनता समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई, समितिका संयोजक रामचन्द्र पौडेल, राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेललगायत उपस्थित थिए ।

अध्यक्ष दाहाल र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई कोरोना भएपछि समितिको बैठक बसेको थिएन । दाहाल संक्रमणमुक्त भएपछि बैठक बोलाइएको हो । नेपाल संक्रमणमुक्त नभएकाले उपमहासचिव गंगालाल तुलाधर बैठकमा सहभागी थिए ।

स्थानीय तहको निर्वाचन भएको पाँच वर्षको कार्यकाल समाप्त हुँदैछ । स्थानीय तहको निर्वाचन ऐन २०७३ बमोजिम तीन चरणमा भएको निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिहरुको अवधि क्रमश: २०७९ जेठ ५, असार २१ र असोज ७ गते सकिँदैछ ।