२०८१ बैशाख २८, शुक्रबार    

मृत्यु मार्ग बन्दै मकवानपुरका राजमार्ग

२०७८ माघ १३, बिहीबार १६:०८ बजे

हेटौंडा/ कात्तिक २० गते राति करिब ११ बजेको समयमा हेटौंडा–१९ स्थित नेवारपानी नजिक बसको ठक्करबाट देउसीभैलो खेल्न हिँडेका दुई युवकको मृत्यु भएको थियो । उक्त दुर्घटनामा आठ जना घाइते भएका थिए । बसले ठक्करबाट दुई जनाको मृत्यु भएपछि स्थानीयले बसमा आगजनी गरे । यस घटनामा खराव सडकको कारण भएको अनुमान गरिएको छ । उक्तसवारी चालक रौतहट चन्द्रपुर–४ का अमितकुमार कार्कीले पनि प्रहरी बयानको क्रममा सोही प्रतिक्रिया दिएका थिए ।

पछिल्लो वर्षहरुमा मकवानपुर जिल्लामा सवारी दुर्घटना बढिरहेको छ । ट्राफिक प्रहरी कार्यालय मकवानपुरका तथ्यांक र अनुसन्धान अनुसार अधिकांश सवारी दुर्घटना ओभर स्पीड र सडकका कारण हुने गरेको छ । ‘अधिकांश सवारी दुर्घटना ओभर स्पीड, सडकको खराबी र चालक निदाएको कारण हुने गरेका छन् ।’, ट्राफिक प्रहरी निरीक्षक प्रकाश पाण्डेले भने ।

d

पूर्वपश्चिम राजमार्गअन्तर्गत् मकवानपुरको हेटौंडा–१९, सान्नानीटारदेखि मनहरी बजारसम्मको सडक खण्डमा खाल्डाखुल्डीका कारण दैनिक सवारी दुर्घटना भइरहेको छ । स्थानीयले लामो समयदेखि सडकको स्तरोन्नति गर्न आग्रह गरेपनि सरोकारवाला पक्षले चासो दिएको छैन । करिब १५ किलोमिटर सडक दायाँबायाँ खाल्डाखुल्डीहुँदा सवारी चलाउनै गाह्रो हुने गरेको चालकहरुले बताएका छन् । ‘देशकै सवैभन्दा पुरानो हाइवेको ताल यस्तो छ । हामीलाई सवारी चलाउन निकै सकस हुन्छ ।’, सवारी चालक हरि सुवेदीले भने । उनी यो रुटमा १२ वर्षदेखि सवारी चलाइरहेका छन् ।

यस सडक खण्डको अधिकांश स्थानमा खाल्डाखुल्डी भएपछि डिभिजन सडक कार्यालय हेटौंडाले सडक स्तरोन्नति कार्य अगाडि बढाएपनि समयमै काम सम्पन्न भएको छैन । जसको कारणले चालक, यात्रुले थप कष्ट व्यहोर्न बाध्य भइरहेका छन् । डिभिजन सडक कार्यालयले केहीदिन भित्रमा समस्या समाधान हुने गरी काम भइरहेको दावी गरेको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक जयश्वर रिमालका अनुसार पूर्वपश्चिम राजमार्गअन्तर्गत् मकवानपुर जिल्लाको मनहरीदेखि चुरियामाई मन्दिरसम्मको सडक साँघुरो र खाल्डाखुल्डी धेरै भएका कारण पनि सवारी दुर्घटना बढिरहेको हो । गतआर्थिक वर्ष २०७७/०७८ मा दुईसय ५० वटा सवारी दुर्घटना भएको थियो । आर्थिक वर्ष २०७६/०७७ मा १ सय २० वटा सवारी दुर्घटना भएको थियो । तथ्यांक अनुसार हरेक वर्ष अघिल्लो वर्षको तुलनामा करिब दोब्बर सवारी दुर्घटना भइरहेको छ ।

a

प्रहरी र ट्राफिक प्रहरीले दुर्घटना न्यनीकरण कार्यक्रम सञ्चालन गरेपनि त्यसको प्रभाव नगन्य देखिएको छ । ‘हामीले कागजपत्र, मादक पदार्थ सेवन र ओभर स्पीड मात्र हेर्छौ । हामी देख्दा सबै ठिकठाक हुन्छन् । अलि पर गएपछि टेर्दैनन् ।’, उनले सवारी दुर्घटना न्यूनीकरण गर्न चालक र सवारी धनी दुवै जिम्मेवार हुन जरुरी रहेको बताए । ‘धेरै कमाउने लोभमा असुरक्षित तवरबाट ओभरटेक गर्ने र समयमै मेकानिकल परीक्षण नगर्दा पनि सवारी दुर्घटना भइरहेको छ ।’, रिमालले सवारीको स्पीड परीक्षण गर्ने मेसिन नहुँदा पनि आफूहरुलाई काम गर्न समस्या हुने गरेको बताए ।

देशकै ठूलो यातायात व्यवसायीहरुको छाता संगठन नारायणी यातायात व्यवसायी संघ हेटौंडाका महासचिव सरोज खनालले बाटो सांघुरो र खाल्डाखुल्ड भएका कारण धेरै दुर्घटना हुने गरेको बताए । प्रहरी–ट्राफिकसँग सहकार्य गरेर संघ दुर्घटना न्यूनीकरण अभियान सञ्चालन गर्ने पक्षमा रहेको उनले बताए ।