२०८१ जेठ ३, बिहीबार    

मकवानपुरमा उत्पादित महको माग वर्षेनी बढ्दो

२०७८ माघ ८, शनिबार १९:२४ बजे

हेटौंडा/ काठमाडौंमा मिसावट गरी गुणस्तरहीन मह उत्पादन भइरहेको यथार्थ बाहिर आउँदा मकवानपुर जिल्लाको विकट राक्सिराङ गाउँपालिकामा उत्पादित महको माग भने वर्षेनी नेपाली बजारमा बढिरहेको छ । विशेष गरी त्यसक्षेत्रमा पाइने चिउरी र तोरी बारीमा चराएर तयार पारिएको महको माग बढेको भएपनि सोही अनुसार उत्पादन गर्न नसकेको किसानहरुले बताएका छन् ।

राक्सिराङ–६ र ७ नम्बर वडामा गरी एकसय पाँचजना किसानहरु अहिले मौरी पालन गरिरहेका छन् । उनीहरुले उत्पादन गरेको मह जनचेतना साना किसान कृषि सहकारी संस्था लिमिटेड राक्सिराङ–६, सिलिङ्गेले संकलन गरेर देशभर विक्रीवितरण गरिरहेको छ । ‘महको माग वर्षेनी बढिरहेको छ । तर, उत्पादन बढाउन सकिएको छैन ।’, सहकारीका अध्यक्ष दिनेश चेपाङका अनुसार साना किसान सहकारीमार्फत् देशभर मह विक्री गरिनेहुँदा वर्षेनी महको माग बढेको हो ।

‘अहिले हामीसँग ६० टन महको माग रहेको छ । जबकी एकवर्षमा मुस्किलले ८० टन उत्पादन गर्छौ ।’, उनले भने ।  ‘गतवर्ष मौसम प्रतिअनुकूलहुँदा मह उत्पादनमा धेरै कमी भयो । यसवर्ष मौसम राम्रो छ । मह संकलन बढ्छ होला भन्ने विश्वास गरेका छौं । ’, उनका अनुसार गतआर्थिक वर्षमा करिब ३० टन मह उत्पादन भएको थियो ।

‘अहिले अर्डर अनुसार हामीले मह उपलब्ध गराउन सकेका छैनौं ।’, सहकारी अध्यक्ष दिनेशका अनुसार सहकारीको मनहरीको लोथर बजारमा रहेको विक्री केन्द्रमा समेत मह सकिएको छ । उनका अनुसार महको माग सवैभन्दा बढी काठमाडौंमा रहेको छ । क्रमश: पोखरा, झापा, बारा, पर्सा तथा मकवानपुर त्यसक्षेत्रमा उत्पादित महको बजार हो । विश्वभर फैलिएको कोरोना महामारीमा झन महको माग बढेको उनले बताए । ‘अन्य समयको तुलनामा कोरोना भाइरसको संक्रमणसँगै महको माग बढेको छ । हाम्रो संकलन केन्द्रमा खुद्रा मह किन्न आउनेको संख्या अत्याधिक भएपछि अहिले खुद्रा विक्री बन्द गरेका छौं ।’, उनले भने ।