२०८१ बैशाख २१, शुक्रबार    

जम्कट्टेललाई मन्त्रालय भागबण्डा टुङ्ग्याउन सकस

२०७९ माघ ६, शुक्रबार १७:२५ बजे

बागमती प्रदेश सरकार गठन भएको १० दिन बितिसकेको छ । गत पुस २५ गते ५ दलको समर्थनमा नेकपा माओवादी केन्द्रका नेता शालिकराम जम्कट्टेल मुख्यमन्त्री नियुक्त भएका थिए ।

नेपालको संविधानको धारा १८२ को उपधारा २ बमोजिम प्रदेश सरकारको मुख्यमन्त्री नियुक्त भएका जम्कट्टेलले पुस २६ गते प्रदेश प्रमुख यादवचन्द्र शर्मा समक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका थिए । सोही दिन मन्त्रिपरिषदमा २ मन्त्री नियुक्त गरी पदभार ग्रहण गरेका उनलाई अहिले सत्ता गठबन्धन दलहरु बिच मन्त्रालय भागबण्डा टुङ्ग्याउन सकस बन्दै गएको छ ।

उनले गत पुस २५ गते आफू नेतृत्वको मन्त्रिपरिषदमा एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियालाई आर्थिक मामिला तथा योजना मन्त्री नियुक्त गरेका थिए भने राप्रपा बागमती प्रदेश संसदीय दलका नेता उद्धव थापालाई बिना विभागीय मन्त्री बनाएका थिए । थापाले भौतिक विकास मन्त्रालयको जिम्मेवारी लिन चाहे पनि सत्ता गठबन्धनमा भागबण्डा हुन नसकेपछि उनले मन्त्रालयको जिम्मेवारी पाउन सकेका छैनन् ।

प्रदेशको १४ वटा मन्त्रालयमध्ये एक मन्त्रालयको जिम्मेवारी एमालेका थपलियाले लिएका छन् भने अन्य १३ वटा मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री जम्कट्टेल स्वयंले सम्हालेका छन् । त्यसो त मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत लिए लगत्तै सरकारलाई पूर्णता दिने तयारी गरेका थिए । तर, भागबण्डाको विषयमा गठबन्धनका दलहरु बिच कुरा नमिल्दा पटकपटक मन्त्रिपरिषद् विस्तार रोकिँदै आएको छ ।

मुख्यमन्त्री जम्कट्टेलले गत माघ ३ गतेको प्रदेशसभाको बैठकबाट विश्वासको मत लिएका थिए । उनले प्रदेशसभाको कुल ११० सांसद् मध्ये १०५ जनाको विश्वासको मत प्राप्त गरेका थिए । उनलाई सत्ता गठबन्धनका माओवादी केन्द्र, एमाले, राप्रपा, हाम्रो नेपाली पार्टीसहित कांग्रेस र एकीकृत समाजवादी पार्टीले समेत विश्वासको मत दिएको थियो ।

मन्त्रालयको भागबण्डाको निर्णय केन्द्रीय तहदेखि नै हुनुपर्ने अवस्था रहेकाले मुख्यमन्त्री जम्कट्टेलको योजना अनुसार सरकारले पूर्णता पाउन नसकेको हो । पछिल्लो समय सत्ता गठबन्धनमा आवद्ध दलहरु बिच मन्त्रालय भागबण्डाको विषयमा प्रदेश तहमा कुनै पनि छलफल नै हुन सकेको छैन । प्रदेशमा कति मन्त्रालय रहने भन्ने अन्यौल र कसले कुन मन्त्रालय पाउने भन्ने विषय पनि केन्द्रले नै निर्धारण गर्ने भएपछि सत्ता गठबन्धनका नेताहरु निर्देशनको पर्खाइमा छन् ।