२०८१ बैशाख १५, शनिबार    

जुम्ला हाजिरिजवाफमा राष्ट्रिय च्याम्पियन

२०७९ श्रावण २८, शनिबार ०८:४५ बजे

वाग्मती प्रदेशको मुकाम हेटौंडामा भएको तेश्रो राष्ट्रिय खुला हाजिरीजवाफ प्रतियोगितामा जुम्लाको टोली विजयी भएको छ । जिल्ला युवा समितिको कार्यालय मकवानपुरको समन्वय तथा युवा रेडक्रस सर्कल हेटौंडा र लायन्स क्लब अफ हेटौंडा सुर्योदय प्लसको आयोजनामा प्रतियोगिता भएको हो ।

अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा शुक्रबार पशुपति मन्दिरको सभाहलमा सम्पन्न प्रतियोगितामा जुम्ला जिल्लाको दिपक खत्री र लोकराज अबस्थीको टोली विजयी भएको हो । गोरखा जिल्लाको प्रेम पाठक र लक्ष्मण बसेलको टोली द्वितीय र मकवानपुर जिल्लाको सुशील भण्डारी र पुजन न्यौपानेको टोली तिृतीय भएको छ । प्रतियोगितामा प्रथम भएको जुम्लाले २५ हजार रुपैयाँ नगद र मेडल प्राप्त गरेको छ ।

द्वितीय हुने गोरखाले १५ हजार रुपैयाँ र तृतीय भएको मकवानपुरले १० हजार रुपैयाँ नगद र मेडल प्राप्त गरेको युवा रेडक्रस सर्कल हेटौंडाका अध्यक्ष सुजन खतिवडाले जानकारी दिए । प्रतियोगिताको वाग्मती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठले उद्घाटन गरेका थिए । कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललितबहादुर घलान, हेटौंडा उपमहानगरपालिका–४ का वडा अध्यक्ष नवीन सिग्देल, जिल्ला युवा समिति मकवानपुरका अध्यक्ष शिवहरि दाहाल, नेपाल रेडक्रस सोसाइटी मकवानपुरका सभापति सुर्यचन्द्र न्यौपाने तथा लायन्स क्लब इन्टरनेसनल डिष्ट्रिक ३२५ एसका गभर्नर टासी डोल्मा टुम्बाहाम्फेले धारणा राखेका थिए ।

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी हेटौंडा उपशाखाका सचिव किशन घिसिङ, कोषाध्यक्ष हिक्मत श्रेष्ठलगायतको उपस्थिति थियो । अन्तर पुस्ताको ऐक्यबद्धताः सबै उमेर समूहमैत्री विश्व निर्माणमा साझा प्रतिबद्धता भन्ने नाराकारसाथ शुक्रबार अन्तर्राष्ट्रिय युवा दिवस मनाइएका छन् । युवाका मुद्दा र सवाललाई सम्बोधन गर्ने उद्देश्यले सन् १९९९ देखि हरेक वर्षको अगस्ट १२ तारिखलाई अन्तर्राष्ट्रिय युवा दिवसको रुपमा मनाउने गरिन्छ ।