२०८१ बैशाख ८, शनिबार    

काठमाडौंमा सुन चोरी गर्ने मकवानपुरका दिलबहादुर र सुशील पक्राउ

२०७९ भाद्र १, बुधबार ०८:५२ बजे

उपत्यकाका घरहरूमा पसेर परिवारलाई नियन्त्रणमा लिई नगद तथा सुनचाँदीका गहना डकैतीमा संलग्न रहेको आरोपमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा नयाँबस्ती पाटीटार बस्ने सिन्धुपाल्चोक मेलम्ची–७ तालामाराङका ३८ वर्षीय सागर भनिने रामसिंह तामाङ, जोरपाटी बस्ने मकवानपुर वाग्मती–८ का ३८ वर्षीय दिलबहादुर सिङतान र मकवानपुर बकैया–५ का ३५ वर्षीय सुशील भनिने बाबुलाल थिङ छन् ।

उनीहरूमाथि कीर्तिपुर–६ का नारायण बस्नेतको घरमा पसेर धारिलो हतियार देखाई नगद, सुन तथा हीराका गहना डाँका गरी लगेको आरोप छ । साथै उपत्यकाका ३ र उपत्यका बाहिर एक ठाउँमा डकैतीमा संलग्नता पुष्टि भएकाले उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

उनीहरू यसअघि पनि खुन डाँका, चोरी डाँका र कर्तव्यज्यान जस्ता मुद्दामा जेल सजाय भुक्तान गरिसकेका रहेको अनुसन्धानबाट खुल्न आएको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एसपी कृष्णप्रसाद कोइरालाले बताए ।

साथबाट बरामद नगद १ लाख ४२ हजार १ सय ५ रुपैयाँ, २ वटा खुकुरी, एउटा मोटरसाइकलसहित उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त कीर्तिपुर र बौद्ध पठाइएको छ ।