२०८१ बैशाख १५, शनिबार    

चैनपुर जेसीजको भाषण कला तालिम

२०८० जेठ २७, शनिबार १९:०६ बजे

चैनपुर जेसीज (प्रस्तावित) ले शनिबार आफ्ना सदस्यहरुका लागि भाषण कला तालिमको आयोजना गरेको छ ।

जेसीज सदस्यलाई भाषण कला सिकाउने उद्देश्यका साथ तालिमको आयोजना गरेको हो । चैनपुर जेसीजका अध्यक्ष गणेश अधिकारीको अध्यक्षता एवम् कार्यक्रम संयोजक प्रदीप थापाको संयोजकत्वमा भएको तालिममा नेपाल जेसीजका निरुपित राष्ट्रिय उपाध्यक्ष राधिका भुसालको प्रमुख आतिथ्यता रहेको थियो ।

नयाँ शाखाको लागि भाषण कला र संसदीय अभ्यास तालिम अपरिहार्य रहेको उल्लेख गर्दै प्रमुख अतिथि भुसालले आगामी दिनमा पनि यस्तै कार्यक्रमलाई निरन्तरता दिन अनुरोध गरिन् । जेसीजमा लागेका युवाहरु भाषण कलामा अब्बल हुन्छन् भन्ने बुझाई रहेको उल्लेख गर्दै उनले वाक्कलामा निपुर्णता ल्याउन भाषण कला तालिमले मद्दत पु¥याउने धारणा राखिन् ।

तालिमलाई चैनपुर जेसीजका बोर्ड सल्लाहकार वसन्तकुमार सिटौलाले सहजीकरण गरेका थिए । तालिममा अध्यक्ष सल्लाहकार विदुर थापा, जेसीजका कार्यकारिणि उपाध्यक्ष महेन्द्र राना मगर, उपाध्यक्ष मिलन ढुंगाना लगायतले मन्तव्य व्यक्त गरेका थिए । चैनपुर जेसीजका अध्यक्ष अधिकारीले नयाँ शाखा भएकोले तालिमलाई नै प्राथमिकता दिइएको बताए ।

उनले आगामी दिनमा पनि तालिमसहित सामाजिक कार्यलाई निरन्तरता दिँदै जाने प्रतिबद्धता जनाए ।
शनिबारै नेपाल जेसीजका निरुपित राष्ट्रिय उपाध्यक्ष राधिका भुसालले चैनपुर जेसीजको शाखा भ्रमण समेत गरेकी छिन् ।