२०८१ बैशाख १२, बुधबार    

कोभिड–१९ विरुद्धको अभियानमा सफलता हासिल : लामा

२०७९ श्रावण ३०, सोमबार १८:४५ बजे

बागमती प्रदेशका स्वास्थ्य मन्त्री निमा लामाले सबैको प्रयासमा कोभिड–१९ विरुद्धको अभियानमा सफलता हासिल गरेको बताएका छन् । स्वास्थ्य मन्त्रालय अन्तर्गतका कार्यालयहरूको बार्षिक समीक्षा बैठक एवं मन्त्रालयको प्रदेशस्तरीय समस्या समाधान समितिको बैठकमा बोल्दै मन्त्री लामाले संघीय एवं प्रदेश सरकारको समन्वय स्वास्थ्यकर्मीको अथक प्रयास र नागरिकको सहयोगका कारण कोभिड–१९ विरुद्धको अभियानमा सफलता हासिल गरेको बताएका हुन् । 

उनले प्रधानमन्त्री शेरबहादुर देउवाको सतप्रतिशत खोप अभियानलाई सार्थक बनाउन र नागरिकलाई कोभिड–१९ को जोखिमबाट बचाउन बागमती प्रदेश सरकारले कोभिड–१९ विरुद्धको खोप अभियानमा सतप्रतिशत सफलता हासिल गरेकोमा सबैलाई आभार व्यक्त गरे । कोभिड महामारी, नीतिगत समस्या र प्रशासनिक समस्याका कारण लक्ष्य अनुसारको प्रगतिमा समस्या रहेको उल्लेख गर्दै उनले चालु आर्थिक बर्षमा मन्त्रालय अन्तर्गतका सबै निकायहरूलाई लक्ष्य अनुसारको प्रगति गर्ने ढंगले काम गर्न निर्देशन दिए । 

उनले जनतालाई स्वास्थ्य सेवा पुर्याउने स्वास्थ्य संस्थाहरुको सेवा प्रवाह ‘स्मार्ट’ हुनुपर्ने भन्दै उनले यसतर्फ लाग्न सबै निकाय आजैबाट कार्ययोजना अनुसार अघि बढ्नुपर्नेमा जोड दिए । कार्यक्रममा प्रदेश नीति तथा योजना आयोगका सदस्य प्रह्लाद लामिछानेले प्रदेशका सबै मन्त्रालयहरूको समस्या एकै किसिमको रहेकाले यसलाई समाधान गर्न सबैको सामुदायिक प्रयास आवश्यक रहेको बताए । 

उनले कार्यालयहरूको पूर्वाधार विकास, जनशक्ति व्यवस्थापन, सुशासन र पारदर्शिता जस्ता विषयमा विशेष ध्यान दिएर अघि बढ्न सुझाव दिए । प्रदेश नीति तथा योजना आयोगले प्रदेश सरकार अन्तर्गतका निकायहरुको काम कारवाहीबारे अनुगमन गरेको र आवश्यक सुझाव समेत दिएकाले सोही अनुसार सुधारको अपेक्षा गरिएको उनको भनाई छ ।

स्वास्थ्य मन्त्रालयका सचिव बद्रीबहादुर खड्काको अध्यक्षतामा बसेको समिक्षा बैठकमा मन्त्रालय, मन्त्रालय अन्तर्गतका विभिन्न निकायहरुले आव २०७८/०७९ को गतिविधि, समस्या र समाधानको उपाय बारे प्रस्तुति गरेका थिए ।