२०८१ बैशाख १४, शुक्रबार    

परोपकारी मनहरुको प्रभाव

२०७८ फाल्गुन १, आईतबार १८:१७ बजे

सामान्यतया: समाज सेवामा सक्रिय हुनु एक धार्मिक कार्य हो । भनिन्छ ‘धर्म कमाउन मन्दिर नै धाउनु पर्दैन ।’ दु:खी, गरिब, असहाय र समाजका समस्या समाधानमा जुट्दा पनि धर्म कमाइन्छ । अहिलेको अवस्थामा मन्दिर धाउने भन्दा समाज सेवामा सक्रिय हुनेको संख्या दिनानुदिन बढ्दो छ । नेपालमा पछिल्ला केहि वर्षअघि देखि यस्तो कार्यले तीब्रता पाइरहेको छ । तर, विकशित मुलुकमा मन्दिर धाउने सवाल निकै कम हुन्छ । बिहानदेखि साँझ घर नर्फिएसम्म आफ्नो जीविकोपार्जनमा जुट्ने त्यस्ता मुलुकका नागरिक फुर्सदको समय मनोरञ्जन र सामाजिक कार्यमा बिताउँछन् । नेपालमा पनि समाजिक कार्यको सुरुवात प्रजातन्त्रपछि उदय भएको पाइन्छ ।

सरकारले समाज सेवामा सक्रिय सहभागिता देखाउन थालेपछि समाजमा विस्तारै सामाजिक संस्थाहरु स्थापना भएका छन् । कानुन बमोजिम दर्ता गरेरै सामाजिक संस्थाहरु स्थापना भएका छन्, ती संस्थाले व्यक्तिगत खर्चबाट समाजमा परोपकारी काम गरेर प्रभाव पारिरहेका छन् । वास्तवमा नेपालमा कानुन बमोजिम दर्ता गरेर सक्रिय समाजिक संस्था भन्दा बहुराष्ट्रिय सञ्जाल र अन्तर्राष्ट्रिय छवि बनाएका सामाजिक संस्थाको योगदान अतुलनीय छ । उदाहरणको रुपमा रोटरी, रोटर्‍याक्ट, जेसीज, लायन्स र लियो जस्ता हेर्दा सानो देखिने तर, विश्वका अधिकांश मुलुकमा सञ्जाल फैलिएको छ । रोटरीको रोटर्‍याक्ट लायन्सको लियोलाई ‘भाइ संस्था’को रुपमा बुझ्न सकिन्छ ।

       यस्ता संस्थाहरुले विशेषगरी हाम्रो जस्तो मुलुकहरुमा पद्धति के हो ?, नियमलाई कसरी पालना गर्न सकिन्छ र नेतृत्वलाई कसरी सफल बनाउने ? भन्ने विषयलाई सुक्ष्म अध्ययन गर्नसमेत मद्दत पुर्‍याएको छ । विकसित मुलुक र आम नेपाली जनताको नजरमा पद्धति, नियम र नेतृत्वमा चुकेको नेपाल जस्तो मुलुकले रोटरी, जेसीज र लायन्सबाट सिक्न सक्ने अनगन्ती सवालहरु छन् । यस्ता संस्थामा आबद्ध नहुने व्यक्तिले सजिलै भन्ने गरेका छन् ‘२–४ जना मिल्यो रोटरी, जेसीज, लायन्स खोल्यो, क्या सजिलो छ ।’

यो विल्कुलै अबुझ धारणा हो, यसको स्थापना, सञ्चालन पद्धति र यस्ता संस्थाले समाजिक कार्यमा गरेको योगदानको मूल्याङ्कन नगरी यसो भन्नुलाई मूर्खता भन्न पछि पर्नुपर्दैन । यस्तो संस्थाले विकृति फैलाए, नराम्रा सवाललाई प्रोत्साहन गरे र राष्ट्रियतामा आँच आउने कुनै गतिविधि गरे प्रश्न उठाउने, नियमन गर्ने र देशको कानुन बमोजिम कारबाही गर्न सकिन्छ । तर, सरकारले गर्नुपर्ने काम व्यक्ति–व्यक्ति मिलेर गरेपछि त्यसको योगदानको कदर गर्नु बाहेक विकल्प छैन । आजका दिन सम्मको मूल्याङ्कनमा यसो गरेको पाइदैन । हामीले औंला उठाउन सक्छौं, खबरदारी गर्न सक्छौं सजिलै सामाजिक सञ्जाल, चिया गफ र सामूहिकरुपमै आलोचना गर्न सक्छौं तर, भएको गरेको राम्रा कामलाई मनमा राखेर ह्दय खोलेर धन्यवादसमेत दिन सक्दैनौं यहि हो हाम्रो कमजोरी र विकासमा पछि पार्नुको कारण । राम्रा काम सहजै स्वीकारौं गल्ती गर्नेलाई नछाडौं तब मात्र हामीमा नेतृत्व र व्यक्तित्व विकासदेखि राष्ट्र निर्माणमा समेत प्रभाव पार्छ । सामाजिक कार्य मात्र होइन माथि उल्लेख गरिएका सवालमा समेत यस्तो संस्थाहरुले महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् ।

       परोपकारी काम भन्नाले समाज सेवालाई बुझिन्छ । परोपकारी कामका लागि एक व्यक्ति, समुदाय र संस्थाको भूमिका नै पर्याप्त हुन्छ । रोटरीले निर्माण गरिदिएको विद्यालयमा आजपनि सयौं गरिब, जेहेन्दार विद्यार्थी अध्ययनरत् छन् । रोटरीले निर्माण गरिदिएको अस्पताल र अस्पतालका लागि खरिद गरिदिएको आवश्यक सामाग्रीले सहजै स्वास्थ्य सेवा उपलब्ध भइरहेको छ । रोटरी र रोटर्‍याक्टको समन्वयमा थुप्रै सामाजिक काम सम्पन्न भएका छन् । चाहे त्यो तुरुन्त प्रभाव पार्ने होस् चाहे दिर्घकालीन प्रभाव त्यसलाई परोपकारी काम भन्न पछि पर्नु हुँदैन । परोपकारी मनहरुले पारेको प्रभावको मूल्याङ्कन हामी आफैले गरौं, परोपकारी कार्यको सम्मान गरौं, सिको गरौं ।

                                                                                        (लेखक: मकवानपुरका पत्रकार हुन्, नयाँ पत्रिका दैनिकमा आबद्ध छन् ।)